काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीको सोधेको २४ घन्टे स्पष्टीकरणको जवाफ फर्काएका छन् । पार्टी सदस्यबाट किन नहटाउने भनेर सोधिएको प्रश्नमा ढकालले जवाफ फर्काएका हुन् ।
यद्यपि, ढकालले जवाफभन्दा पार्टी सभापति रवि लामिछाने केन्द्रीत प्रश्नहरु गरेका छन् । लामिछानेसँग आफूलाई स्पष्टीकरण सोध्ने नैतिक धरालत नरहेको तर्क ढकालले गरेका छन् । लामिछानेले पार्टीको विधि विधान मिच्दै पार्टीभित्र हैकवादी निरंकुश शासन चलाएको आरोप ढकालले लगाएका छन् ।
“तपाईं रवि लामिछाने, पार्टी सभापतिलाई सम्बोधन गरी ममाथि गरिएको भनिएको कारबाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी लेखिएको पत्र पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु तपाईं रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाइरहेको स्पष्ट हुन्छ”, ढकालले पत्रमा भनेका छन्, “मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झूटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईंले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपछ । नैतिक रूपले पतीत हुनु भएको छैन भने प्रश्नहरूको जबाफ दिन अनुरोध गर्दछु ।”
सर्वोच्च अदालतले लामिछानेमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको सन्दर्भमा फैसलाअनुसार छानबिन गर्ने किन नगर्ने भन्दै प्रश्न गरेका छन् । “असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईंमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ”, उनले पत्रमा भनेका छन्, “सर्वोच्च अदालतको फैसलालाई तपाईं मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ?”
पासपोर्ट दुरुपयोग अपराधमा विद्यमान ऐन कानुनलाई आधार मान्दा लामिछाने मन्त्री, सांसद बन्न अयोग्य भएको उनले बताएका छन् । उनले लामिछानेलाई आँट छ भने पासपोर्टका सबै पानाहरु सार्वजनिक गर्न चुनौति दिएका छन् ।
“विद्यमान ऐन, कानुनअनुसार तपाइँ मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नुहुन्छ, तपाइँले विगतमा गरेको अपराधका लागि पार्टी बलि चढ्नुपर्ने ?”, उनले प्रश्न गर्दै भनेका छन्, “आँट छ भने आफ्ना सबै पासपोर्टका सबै पानाहरु सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?”
लामिछाने गृहमन्त्री हुँदा निकै पदीय दुरुपयोग गरेको आरोप ढकालले लगाएका छन् । उनले पार्टी आफ्नो कारण नभई लामिछानेको कारण सकिने अवस्थामा पुगिरहेको ढकालले बताएका छन् ।
यस्तो ढकालको स्पष्टीकरण