काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेकाे १५ दिनको समयमा ६ जनाले आवेदन दिएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार अध्यक्षका लागि फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्डका पूर्व सदस्य अर्जुनकुमार डङ्गोल, बोर्डका पूर्व सदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेतले आवेदन दिएका हुन्।
सञ्चार मन्त्रालयले निवर्तमान अध्यक्ष भुवन केसीको केसीको कार्यकाल सकिएसँगै साउन १६ गते १५ दिनको समय दिएर आवेदन मागेको थियो ।
अब, यी ६ जना कलाकर्मीसँग सञ्चार मन्त्रालयको विज्ञ टोलीले अन्तरवार्ता लिनेछ । यसपछि, ३ जना कलाकर्मीको नाम मन्त्रीपरिषद्मा सिफारिस गरिनेछ । मन्त्रिपरिषद्को निर्णयअनुसार एक जना चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुनेछन् ।
रिक्त अध्यक्ष पदका लागि ६ जनाको आवेदन परे पनि मुख्य प्रतिस्पर्धा भने डीसी र मानन्धरबीच हुने आंकलन गरिएको हो ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)ले नै सञ्चार मन्त्रालयको नेतृत्व गरिरहेको हुँदा एमाले निकटले नै नियुक्ति पाउने पक्का रहेको छ । त्यसको त आवेदन दिएका सबै एमाले निकट कलाकार हुन् ।
डिसी लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी एमाले निकट चलचित्र कर्मीहरूको संगठनका अध्यक्षसमेत हुन् ।
मानन्धर पनि केही वर्षअघि एमाले प्रवेश गरेकी नेतृ हुन् । मानन्धर प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक छिन् ।
उता फिल्म वितरक अर्जुनकुमार डङ्गोल पनि एमालेभित्र विश्वासिला पात्र मानिन्छन् । उनी यसअघि एमालेको कोटाबाट विकास बोर्डमा सदस्य रहिसकेका छन् ।
अर्का, थापा आवेदक राजेशकुमार थापा पनि एमाले निकटकै कलाकार हुन् । संस्कृतिकर्मीका रूपमा परिचित थापा एमालेकाे जन सांस्कृतिक समूहभित्र राम्रो प्रभाव राख्नेमा मानिन्छन् ।
सबै आकाङ्क्षी एमाले निकट भएपछि डीसी र मानन्धरलाई नै मुख्य प्रतिस्पर्धीकाे रूपमा हेरिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ डिसीप्रति सकारात्मक बन्दा एमालेका महिला नेतृमार्फत करिश्माले प्रधानमन्त्री ओलीसमक्ष लबिङ बढाइरहेको स्रोतले बताएको छ ।