काठमाडौं । गत वर्षको फागुन महिनामा काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रुमानी रङ्ग’ निर्माणको घोषणा गरिएको थियो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिसँग आविष्कार बाहु संचार प्रा.लिको सहकार्यमा निर्माण हुने भनिएको यो फिल्मको अस्ट्रेलियामा ९० प्रतिशत र नेपालमा १० प्रतिशत छायांकन हुने जनाइएको थियो । तर, अहिले सम्म यस फिल्मको छायांकन सुरु हुन सकेको छैन ।
अनिल योञ्जनले निर्देशन गर्ने भनिएको फिल्ममा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने जानकारी दिइयो । उनीहरु यही फिल्म पर्खेर बसिरहे पनि छायांकन सुरु नहुँदै टिमभित्र ठूलो उथलपुथल आयो ।
फिल्म ‘रुमानी रङ्ग’का निर्मातासँग मतभेदपछि निर्देशक अनिल यो फिल्मबाट अलग भए । उनले करिब दुई महिना मंगलबार फेसबुक स्टाटसमार्फत फिल्मको गुणस्तरमा असर पर्ने देखेपछि आफू बाहिरिएको जानकारी गराएका थिए ।
निर्माण टिमको संलग्नता, चासो र सङ्गठनात्मक प्रभावकारिताको अभावले समस्या उत्पन्न भएको जनाउँदै उनले त्यस समयमा आफ्नो राम्रो प्रयास र प्रतिबद्धताका बाबजूद फिल्मको प्रगतिमा प्रभाव पार्ने आधारभूत समस्याहरु देखिएपछि निर्देशनबाट आफ्नै इच्छाले अलगिएको बताएका थिए ।
फिल्ममा कथा/पटकथा/संवाद अनिल योञ्जनकै रहने बताइएको थियो ।
निर्माण अन्योल देखिएको फिल्मको यतिबेला निर्देशक परिवर्तन भएका छन् । अब यो फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्नेछन् । निर्माणपक्षले ढकालसँग कागजी सम्झौता गरिसकेको छ ।
यता, निर्देशक परिवर्तनसँगै फिल्मका लेखक समेत परिवर्तन गरेको छ । फिल्मको कथा सञ्जोक राणा कुँवरले लेख्ने भएका छन् । निर्देशक र लेखक निर्माणपक्षले कलाकार पनि परिवर्तन हुने वा नहुने त्यो भने बताइएको छैन ।
फिल्म फिल्मको प्रस्तुतकर्ता जिएम ठकुरी तथा निर्माता हरि मल्ल ठकुरी हुन् । सुशील थापा, सृजन बस्नेत, सन्तोष सरु र विजय अधिकारी भने सह-निर्मातामा छन् ।
साम्राज्ञी र धिरजले यस अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा एकसाथ काम गरेका थिए । यसपछि, यी दुईको जोडीको सर्वाधिक चर्चा पनि भएको थियो ।