काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) ३ हजारको बिन्दुमा उक्लिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार ४३.०५ अंकले बढ्दै नेप्से ३०००.८१ को बिन्दुमा उक्लिएको हो ।
समग्रमा नेप्से १.४५ प्रतिशतले बढेको छ ।
बिहीबार प्रि सेसनमै २१.८४ अंकले बढेको नेप्से करिब लगातार दिनैभर उकालोमा थियो । यद्यपि, अन्तिम ३८ मिनेटमा भने नेप्सेमा निरन्तर गिरावट आएको थियो ।
२ः२८ बजे ३०३६ को बिन्दुलाई छोएको नेप्से, त्यसयता ३८ मिनेट लगातार ओरालोमा थियो । ३ हजारको बिन्दुबाट तल ओर्लिएको नेप्से पुन अन्तिम २ मिनेटमा बढेर ३ हजारको बिन्दुमाथि उक्लिएको हो ।
इन्डेक्स ३ हजारमा उक्लिँदै गर्दा कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ । नेप्सेमा हालसम्मकै सर्वाधिक २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । ६ करोड ८९ लाख ८० हजार कित्ता किनबेच हुँदा सो बराबरको रकम कारोबार भएको हो ।
आज १३ समूहमध्ये ८ समूहको सूचक बढ्यो भने ५ समूहको सूचकमा गिरावट आयो ।
५.६५ प्रतिशतले बढ्दै वाणिज्य बैंक समूह चम्किदा वित्त ३.०५ प्रतिशतले घट्यो । आज विकास बैंक १.२८ प्रतिशतले बढ्दा होटल तथा पर्यटन ०.३२ प्रतिशतले बढ्यो । यसैगरी, हाइड्रो ०.७९ प्रतिशतले बढ्दा इन्भेष्टमेन्ट २.६९ प्रतिशतले बढ्यो ।
लाइफ इन्स्योरेन्स ०.७३, उत्पादन तथा प्रशोधन १.७३, लघुवित्त ०.१३ प्रतिशतले घट्दा सामूहिक लगानी २.२८, निर्जीवन ०.९४ प्रतिशतले बढ्यो । यसैगरी अन्य २.३० प्रतिशतले घट्दा व्यापार १.८१ प्रतिशतले बढ्यो ।
यसदिन ३ कम्पनीको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा ४ कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने ५ कम्पनीको मूल्य ८ प्रतिशतले बढ्यो ।
उच्च अंकले बृद्धि भएपनि बिहीबार कारोबारमा आएका अधिकांश कम्पनीको मूल्यमा गिरावट देखिएको छ । नेप्सेमा सुचिकृत २४३ कम्पनीमध्ये १०५ कम्पनीको मूल्य बढ्दा १३७ कम्पनीको मूल्य घट्यो । यस्तै, आज एक कम्पनीको मूल्यमा भने कुनै घटबढ भएन ।
सूचक र कारोबार रकममा उच्च अंकले बृद्धि भएको नेप्सेमा आज हिमालयन रि इन्स्योरेन्स कारोबार रकममा सबैभन्दा अग्रस्थानमा रह्यो । हिमालयन रिको ९ हजार ४० पटक सेयर किनबेच हुँदा कारोबार रकम ९१ करोडको भयो । यस्तै, सानिमा मै हाइड्रोको पनि कारोबार रकम ८३ करोड २३ लाख रुपैयाँको भयो ।
उच्च बिन्दुमा पुगेसँगै लगानीकर्ता नाफा बुक गर्न तस्सिँदा निकै उथलपुथल पनि बनिरहेको देखिन्छ । विशेषगरी अधिकांश कम्पनीको मूल्यमा गिरावट आउनुमा सो कम्पनीका लगानीकर्ता नाफा बुक गर्न तस्मिँदाको परिणाम हो ।
यद्यपि, नवप्रवेशी र ठूला लगानीकर्ताको प्रवेशसँगै नेप्सेले भने उकालो यात्रा छोडेको छैन ।