के माओवादी र एकीकृत समाजवादीबिच एकता हुन लागेको हो ?-Sutra News

के माओवादी र एकीकृत समाजवादीबिच एकता हुन लागेको हो ?

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बिच पार्टी एकताको चर्चा चुलिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भएको भेटपछि सो चर्चा चुलिएको हो ।



दुई नेताहरूबिच प्रचण्ड निवास खुमलटारमा सोमबार छलफल भएको थियो । उक्त भेटपछि दुई दलका बारे पार्टी एकताको चर्चा चलेको हो ।
यद्यपि, छलफल निष्कर्षमै पुग्ने तहमा भने नभइसकेको खुलेको छ । दुवै दलका नेताहरूले बताएअनुसार अहिले तत्कालै पार्टी एकता हुने तहमा छलफल भएको छैन ।

“छलफल भइरहन्छ, कम्युनिस्टहरू मिल्नुपर्छ भन्ने स्पष्ट लाइन माओवादी केन्द्रको हो”, माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले भने, “यद्यपि, आज नै भोलि नै एकता भन्ने स्तरमा पुगिसकेको छैन, बिस्तारै आधार तयार गर्दै जाने कोणबाट भने छलफल चलेको छ ।”

तत्कालको लागि समाजवादी मोर्चालाई बलियो बनाएर जाने कोणबाट छलफल चलेको शर्माले बताए ।

एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले पनि तत्कालै त्यस्तो परिस्थिति नबनेको बताएका छन् । “कम्युनिस्ट पार्टीहरूबिचमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल चलिरहेकै छ, समाजवादी मोर्चाको गतिविधिलाई बढाउँदै बामपन्थीहरूबिच न्यूनतम सहकार्य बढाउने सन्दर्भमा पनि पहल भइरहेको छ”, चर्चाबारे एकीकृत समाजवादीका नेता खतिवडाले भने, “त्योभन्दा बढी केही भएको छैन ।”

खतिवडाका अनुसार एकीकृत समाजवादीभित्र तत्कालै कुनै दलसँग एकता गरेर जाने तहमा छलफल वा निर्णय भइसकेको छैन ।

किन चल्यो चर्चा ?

विशेष गरी दुवै दलभित्र नेतृत्व परिवर्तन र आगामी कार्यदिशाको विषयमा ठुलो अन्यौलता देखिन्छ । माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष प्रचण्डलाई नै नेतृत्व छोड्न दोस्रो तहका नेताहरूले दबाब बढाएका छन् भने एकीकृत समाजवादीभित्र ठुलो समूह पार्टी फुटाउँदै एमालेसँग एकता गर्ने प्रयासमा छ ।

सतहमै देखिएका यी घटनाका बिच प्रचण्ड र नेपाल छलफलमा जुटेको देखिन्छ । माओवादी सचिव शर्मा यस्ता भेटवार्ता भइरहने बताउँछन् । “हामी प्रस्ट छौँ, वामपन्थी मिल्नुपर्छ, प्रचण्डले पहल गरिरहेको सन्दर्भलाई अन्यथा मान्न मिल्दैन”, शर्माले भनेका छन् ।

यद्यपि, माओवादीभित्र दबाब थेग्न नसकेका प्रचण्डले नयाँ तुरुप फालेको त होइन भन्ने प्रश्न आमरूपमा उठेको छ । किनकि पार्टीको स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेको प्रस्तावको पक्षमा धेरै सदस्य खुलेका छन् ।

स्थायी समिति बैठकलाई हेर्दा, प्रचण्ड अल्पमतमा परेका छन् । जुन विषयलाई विषयान्तर गर्न प्रचण्डले नयाँ तुरुप खेलेको जस्तो देखिन्छ । यद्यपि, नेताहरू स्वयंले बताएअनुसार तत्कालै एकता गरेर जाने अवस्था तथा परिस्थिति बनिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट