नेपालका प्रदीपले बनाए विश्व रेकर्ड, एक वर्षमै ४५० तीर्थ स्थलको दर्शन-Sutra News

नेपालका प्रदीपले बनाए विश्व रेकर्ड, एक वर्षमै ४५० तीर्थ स्थलको दर्शन

बिहिबार, ३१ साउन २०८१

बिहिबार, ३१ साउन २०८१

काठमाडौं । विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान् ? सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन्- कि शंकाराचार्य हुन् कि गुरु नानक देव।



भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि २१ वर्ष लगाएर यतिका तीर्थस्थलको भ्रमण गरेर विश्वमा प्रसिद्धी कमाएका थिए । त्योभन्दा अघि आदि गुरु शंकराचार्यले कति वर्ष लगाएर यतिको संख्यामा तीर्थस्थल भ्रमण गरेका थिए भन्ने यकिन छैन ।

अहिले नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताएका छन् । उनले गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि चर्चामा छन् ।

भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन् ।’

भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्, यो इतिहासमै दुर्लभ घटना हो ।’

भारतको मणिकारण शिव मन्दिरको अन्तिम पटक भ्रमण गरेर नेपाल फर्केपछि खनालले आफूले ४५० औँ तीर्थस्थल यात्रा सम्पन्न गरेको बताए । उनले भने, ‘यो कठिन भ्रमण पूरा गर्दा सनातनी धर्मगुरुहरूले मलाई विश्वमै पहिलो व्यक्ति ठान्दै बधाई दिइरहनु भएको छ ।’

उनलाई अहिले फोन तथा सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिने सनातन धर्मप्रेमीहरूको ओइरो लागेको छ । ‘बधाई तथा शुभकामना आइरहेका छन्, विश्वमै मैले पहिलो पटक यो यात्रा पूरा गरेको छु भनी म आफूले दाबी गरेको हैन, विश्वप्रसिद्ध धर्मगुरुहरूले भन्नु भएको हो,’ उनले थपे ।

छोटो समयमा ४५० तीर्थस्थलको भ्रमण गरी फर्किएका खनाल ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफूलाई दर्ज गर्न प्रयासरत् छन् । ‘त्यसका निम्ति गर्नुपर्ने कार्यहरूको तयारी गरिरहेको छु, हेरौं सफल हुन्छु भन्ने लागेको छ,’ खनालले भने ।

खनाल धार्मिक तथा सांस्कृतिक अभियन्ता हुन् । उनी अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष पनि हुन् ।

धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पशुपतिनाथबाट तीर्थयात्रामा निस्किएका खनालले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र चीनको तिब्बत गरी छ वटा राष्ट्रका ४५० तीर्थस्थलको भ्रमण सकाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट