फेरी सर्‍यो ‘ह्रस्व दीर्घ’-Sutra News

फेरी सर्‍यो ‘ह्रस्व दीर्घ’

शुक्रबार, ३२ साउन २०८१

शुक्रबार, ३२ साउन २०८१

काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति परिवर्तन भएको छ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको पूर्वनिर्धारित मिति स्थगित भएको हो ।



फिल्मको प्रदर्शन मिति सारिएको यो दोस्रो पटक हो । यसअघि पनि यो फिल्मको असोज ११ गतेलाई प्रदर्शन मिति तय गरिएको थियो । निर्माणपक्षले असोज ११ बाट एक साता अगाडि सारेर रिलिज गर्ने भएको थियो । अहिले फेरी असोज ३ गते फिल्म नआउने भएको छ । निर्माण टिमले पूर्वनिर्धारित मिति स्थगित गरे पनि अब कहिले रिलिज हुन्छ ? भन्नेबारे कुनै जानकारी उल्लेख गरेको छैन ।

फिल्मकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले सामाजिक सञ्जाल मार्फत प्राविधिक टिमले प्राविधिक कामहरू सक्न अझै केही समय लाग्ने बताएपछि रिलिज मिति पोस्टपोन्ड गर्नु परेको जानकारी गराएकी छन् ।

‘निर्धारित प्रदर्शन मिति असोज ३ मा आउने तयारीका बीच हाल मुम्बईमा पोस्ट-प्रोडक्सनमा रहेको फिल्मको प्राविधिक टिमबाट फिल्मलाई थप उत्कृष्ट बनाउन विशेषतः प्राविधिक कामहरू सम्पन्न गर्न थप समय लाग्ने भनि केहि समय माग भइआएकोले उक्त मितिमा ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा ल्याउन असमर्थ हुने निर्णयमा पुगेका छौं । वितरण कम्पनीसँग निरन्तर छलफल र संवाद अघि बढिरहेकोले यथाशीघ्र नयाँ प्रदर्शन मिति सार्वजनिक गर्नेछौं । यो सुचनाले यहाँहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, उनले लेखेकी छन् ।

निर्माण टिमले विभिन्न चरणमा पोस्टरसहित यसै साता ‘उठेर नाचिस्यो’ गीत सार्वजनिक गरेको थियो । रिलिज सर्ने भएपछि गीतबाट प्रदर्शन मिति समेत हटाइएको छ ।

चन्द्र पन्तको डेव्यु निर्देशकिय फिल्ममा नीता ढुंगाना, रिहर अधिकारी, कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, ब्रह्मानन्दम, अली, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज गरिने फिल्मको बजेट ६ करोडमाथि रहेको जनाइएको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा अभिनेता हरिहरको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ ।

यो फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । विजय वस्यालले पोस्टर डिजाइन गरेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट