काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । लगातार बृद्धिका बीच तोलाकै डेढ लाखमाथि पुगेर रेकर्ड राखेको सुनको मूल्य बुधबारदेखि घट्न थालेको थियो ।
शुक्रबार भने एकै दिन तोलाकै नौ सय रुपैयाँले घट्दै सुन प्रतितोला डेढ लाखभन्दा मुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँ थियो । बिहीबार भने सुनको मूल्यमा कुनै घटबढ भएको थिएन ।
सुनको मूल्य घट्दा नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ । शुक्रबार एकै दिन प्रतितोला २० रुपैयाँका दरले मूल्य बढेको महासंघले जनाएको छ ।
मूल्य बढेसँगै शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा भइरहेको मूल्य घटबढको प्रभाव नेपाली बजारमा परेको हो । यद्यपि, मूल्यमा उच्च घटबढसँगै कारोबारमा भने निकै कमी आएको महासंघले जनाएको छ ।