काठमाडाैं । विश्व प्रसिद्ध जापानी कार उत्पादक सुवारुद्वारा निर्मित दुई नयाँ मोडलका गाडीहरू नेपाली बजारमा बिक्री वितरण शुरू भएको छ । नेपालको लागि सुबारुको आधिकारिक वितरक विजय मोटर्सले एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ मोडल सार्वजनिक गरेको हाे ।
जसमा २.० क्रसट्रेक हाइब्रिड आइसाइट र २.५ आउटब्याक ट्वरिङ्ग आइसाइट छन् ।
सार्वजनिक गरिएका दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारुद्वारा अंगीकार गरिएको पछिल्लो अत्याधुनिक अटोमोबिल प्रविधि, सुरक्षा, दिगोपना र कार्यक्षमतालाई प्रतिनिधित्व गर्दै साहसिक कार सवारीको नयाँ मापदण्ड तय गर्ने बताइएको छ ।
२.० क्रसट्रेक हाइब्रिड आइसाइट
हाइब्रिडप्रविधिमा आधारित २.० क्रसट्रेक हाइब्रिड आइसाइट बाटोमा दौडिरहेको अवस्थामा स्वचालितरूपमा विद्युतीय र इन्धनको उर्जा लिने हुनाले यसलाई अन्य विद्युतीय गाडीजस्तो बाहिरी चार्जिङ्गको आवश्यकता पर्दैन ।
गुडिरहेकै अवस्थामा ब्याट्री आफैं चार्ज हुने भएकाले यसले सहजता, सुविधा र कार्यकुशलतालाई थप गराएको कम्पनीले जनाएको छ । यसैगरी, एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमीको माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने विश्वास लिइएको छ ।
२.५ आउटब्याक ट्वरिङ्ग आइसाइट
सुरक्षा, विश्वसनियता र बहुमुखी गुणलाई प्रतिनिधित्व गरेको २.५ आउट ब्याक ट्वरिङ्ग आइसाइट भेरियन्टको गाडी १८८ हर्जपावर इञ्जिन क्षमतामा आएको छ । यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सतहजस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ।
जम्मा १० वटा यअरब्याग प्रदान गरिएको यस भेरियण्टमा ब्ल्याइण्ड स्पट मोनिटरिङ्ग र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेन्ट प्रणालीले यात्रामा सुरक्षाको प्रत्याभूतीलाई थप गराउनेछ ।
दुवै मोडलका गाडीहरुको सुरुवाती मूल्य एक करोड ६९ लाख रहेको कम्पनीले जनाएको छ ।