काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी नफुट्ने निश्चित भएको बताएका छन् । स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावसँगै माओवादी फुट्ने आशंकाबीच उनले पार्टी फुटबाट जागिएको बताएका हुन् ।
शर्माले पार्टी बैठकमा अध्यक्ष प्रचण्डको विकल्प खोज्नु पर्ने बताउँदै नयाँ नेतृत्व आवश्यक रहेको भन्दै लिखित असहमति पेश गरेका थिए । स्थायी समिति बैठक समापन भएसँगै प्रचण्ड पार्टी फुट्न अवस्था नभएको बताएका थिए ।
यसैबीच शर्माले प्रचण्ड निवास खुमलटारबाटै आफूले पार्टी फुटाएर एमालेमा जाँदैछ भनेर हल्ला चलाइएको भन्दै चर्को असन्तुष्टि जनाए । पोस्ट बहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड शनिबार बिहान मात्रै खुमलटारमा उपमहासचिव शर्मासँग आफूले छलफल गरेको बताएका थिए ।
‘आज बिहान जनार्दन शर्मा खुमलटार आउनु भएको थियो, अब त्यो आशंका गर्यौं भन्दैमा अब त्यो हामीले दिमागमा राख्नु परेन, तर केही विषयमा उनले गम्भिर आशंकाको कुरा छन्, ती आशंकाको बारेमा पनि स्थायी कमिटीको बैठकको अम्तिमसम्म आइपुग्दा क्लियर भइसकेको छ,’ उनले भने ।
यसअघि प्रचण्डले बैठक अन्त्यसम्म जनार्दनको पार्टी फुटाउने कुनै उद्देश्य नभएको र नियत पनि नभएको भन्दै स्पष्ट पारेको जानकारी दिए ।
यस्तै, अर्को प्रसंगमा प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले षड्यन्त्रपूर्वक माओवादीलाई सत्ताबाट हटाएको बताए । उनले भने, ‘हामीले मुख्य त सुशासनको प्रयास गरेबापत संख्या भएका भनिएकाले बडो अपारदर्शी तरिकाले, बडो षडयन्त्रमूलक तरिकाले सरकार हटाउने मध्यरातमा हटाउने, आफ्नै पङ्तिलाई पनि जानकारी नदिइ गर्ने जमर्को गरियो ।’
अध्यक्ष प्रचण्डले सरकारबाट बाहिरिँदा विजेताका रुपमा बाहिरिएको बताउँदै अब आफूहरूलाई जनतामा जान चुनौती र अवसर रहेको बताए । उनले पार्टीभित्रका नेताहरूले नबुझेजस्तो गरे पनि जनताले बुझिरहेकाले आफ्नै संगठन भित्रका नेताले नबुझेको गुनासो गरे ।
प्रचण्डले संगठनात्मक अराजकता, कुण्ठा र विचलनको समस्या देखा परेकाले पार्टीभित्र एकबद्ध बनाएर अगाडि पार्टी पुनःनिर्माणको गति अगाडि बढाउन खोजिएको बताए ।