काठमाडौं । नेपाली बक्सअफिसमा साउन महिनालाई आधार मानेर हेर्ने हो भने हरेक हप्ता फिल्म प्रदर्शनमा आए । तर, रिलिज भएका जे जति फिल्मले हलसम्म दर्शक तान्न सकेनन् । दशर्कको साथ नपाउँदा निर्मातालाई लगानी उठाउन मुस्किल पर्यो । उनीहरूको लगानी, बालुवामा पानी सरह भयो ।
उनै निर्माताहरूले औसतमा एउटा फिल्म बनाउन अढाई करोड लगानी हुने बताउँछन् । एउटा फिल्म निर्माण गर्न अढाई करोड लाग्ने हो भने नेपाली फिल्म क्षेत्रले हरेक हप्ता करिब पाँच करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ । कतिपय फिल्मले शतप्रतिशतसम्म घाटा व्यहोर्ने गरेका छन् ।
नेपालमा वार्षिक नेपाली फिल्मको सक्सेस रेट कति छ ? भन्ने यकिन तथ्यांक छैन । यहाँको सक्सेस रेट करिब १२ प्रतिशत वरिपरि रहेको छ । बलिउड र हलिउडमा सिनेमाको सक्सेस रेट क्रमशः २० र ९ प्रतिशत रहे पनि लगानी रिकभरीका हिसाबले यी दुवै चलचित्र उद्योग नाफामा छन् । बर्सेनि यी सिनेमा उद्योगमा जति लगानी हुन्छ, बक्स अफिसमा सफल फिल्मको ग्रस कलेक्सन त्योभन्दा धेरै हुन्छ । त्यसैले समग्रमा हलिउड र बलिउड फिल्म उद्योग नाफामा छन् ।
बलिउडभन्दा माथि सक्सेस रेट रहे पनि नेपाली फिल्म उद्योग घाटामा छ । यहाँ वर्षभरि फिल्म उद्योगमा हुने लगानीभन्दा धेरै कम रकम बक्सअफिस कलेक्सन हुने गरेको छ ।
उसो त, पछिल्लो समय निर्माताले लगानी सुरक्षित गर्न खोज्दै बिदा र चाडपर्व खोजी गरिरहेका हुन्छन् । यसमा विशेष गरि नेपाली फिल्म हेर्न दर्शकको ओइरो लाग्ने समय भनेको दसैँ-तिहारकै समयलाई मानिन्छ । त्यसबाहेक नयाँ वर्ष, होली अथवा तिजको छेको पारेर रिलिज गरेका फिल्मले राम्रै मात्रामा दर्शकको साथ पाएको देखिएको छ ।
समयकै कुरा गर्दा, पुसको जाडो र असार साउनको झरीमा खासै दर्शकहरू हलसम्म जान चाहँदैनन् । तर, फिल्मको विषय वस्तु राम्रो भए भने दर्शकहरू समय नै नहेरी मात्र फिल्मलाई हेर्न दर्शक हलसम्म पुग्ने गरेका छन् ।
कस्तो रह्यो त साउन महिना ?
प्राकृतिक रूपमा साउनको झरीले बाढी ल्याउँदा, फिल्मी क्षेत्रमा दर्शकको खडेरी नै लागेको देखियो । अझ भनौँ न यो साउन महिनामा चलेका फिल्महरूको हरिबिजोग भयो । करोडौंमा बनेका फिल्मले लाखमा पनि व्यापार गर्न धौ-धौ नै पर्यो ।
साउनको सुरुवात पहिलो अर्थात् पहिलो साताको शुक्रबार कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन् । तर दोस्रो शुक्रबार मतलब साउनको ११ गते भने ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ प्रदर्शनमा आए तर, यी दुवै फिल्म दर्शकको अन्तिमै परेनन् ।
प्रिमियममा केही कलाकारलाई बोलाएर फिल्मको बारेमा बोल्न लाए पनि, प्रचार प्रसारबिना रिलिज भएको आरएल लामा मोक्तान निर्देशित फिल्म ‘ब्ल्याक छाया’ले मल्टीप्लेक्समा न त शो नै पायो, न त दर्शकले यो फिल्म आएको गएको नै थाहा पाए । तर ब्ल्याक छायाको तुलनामा सोही दिन रिलिज भएको फिल्म ईश्वरले भने मल्टीप्लेक्स हलहरूमा न्यून शोज भए पनि पाएको थियो । तर न्यून सोज पाए पनि राजु गिरीले निर्देशन गरेको यो फिल्मले रिलिज भएकै दिन दर्शक नपाएर धेरै जसो हलका शो रद्द भएका थिए । जसको कारण केही फिल्म हलले यसलाई दुई दिनमै उतारिदिएका थिए ।
फिल्ममा अनु शाह, पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, रविन्द्र झा, बुद्धि तामाङ, ध्रुव थापा, कृष्टि गुरुङ, सुविन बास्तोला, युवराज गिरीलगायतको अभिनय छ । फिल्मका मुख्य पात्र अभिनेत्री अनु शाह र अभिनेता पृथ्वीराज प्रसाईंले यही फिल्मबाट पाँच वर्षपछि अभिनयमा कम ब्याक गरेको हुन् । तर यतिका समय पनि कमव्याक गर्दा पनि दर्शकहरूले बालै नदिएको देखियो ।
साउनको तेस्रो हप्ता १८ गते ‘शिरफूल’ र ‘मोदीबेनी’ गरेर दुई फिल्म चले । कमल एक्चै मगरको निर्देशनमा तयार भएको फिल्म शिरफूल असार सातमा प्रदर्शन हुने भनिए पनि पछि डेट सारिएर साउन १८ मा पुगेको थियो । तर यो फिल्मको व्यापार निकै दयनीय छ किनकी यो फिल्म आए गएकै दर्शकले थाहा पाएनन् । थाहा पाउन पनि कसरी यो फिल्मको प्रचारमा निमार्ण टिमले अलिकति पनि चासो नदेखाएको देखियो ।
प्रचारकै कुरा गर्ने हो भने सोही दिन प्रदर्शनमा आएको फिल्म ‘मोदीबेनी’ले भने प्रचारमा बेहिसाब खर्च गरेको देखियो । प्रचारकै लागि मात्र १० लाख छुटाइएको यो टिमले गीत रिलिज होस या ट्रेलर रिलिज सबै कुरामा प्रेसमिट नै गरेर प्रचार सामाग्री प्रदर्शन गरे । त्यतिमात्र हैन गीत र ट्रेलरलाई अझ ज्यादा दर्शकले हेरुन् भनेर बुस्ट पनि गरे । त्यतिले नि नपुगेर , निर्माण पक्षले गीतलाई उठाउन पुरस्कारको ‘ललिपप’ देखाउनसमेत भ्याए । तर, पनि फिल्मको सामाग्री न त दर्शकको नजरमा पर्न सक्यो न त कसैको ध्यान नै तान्न सक्यो । यसरी निर्माताले फिल्म निर्माण र प्रचारमा राम्रै रकम खर्च गरेपनि फिल्म बक्स अफिसमा भने जम्न सकेन ।
फिल्ममा अभिनेत्री वर्षा शिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठ सरोज खनाल, कमलमणि नेपाल, प्रवीण खतिवडा, रेजिना उप्रेतीलगायत रहेका छन् ।
यसरी लगातार फिल्म फल्प भइरहेको बेला साउन २५ गते फेरी राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ प्रदर्शनमा आयो । यो फिल्मले दर्शकलाई लोभ्याउन अनेक उपाय पनि लगायो । यो फिल्म निर्माण टिमले महँगो सुनको उपहार दिने भन्दै सस्तो प्रचार गर्नसमेत पछि परेन । तर फिल्ममा ओजनदार टाइटल राखेर आफैलाई भारी परेको देखियो ।
किनकी, सुनको लोभ देखाएर गरिएको सस्तो प्रचारमा दर्शक लोभिएनन् । त्यसैले यो फिल्मको व्यापार पनि नाजुक नै देखियो । फिल्ममा नम्रता, गौरव र विनोदका साथमा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ । फिल्ममा शिवम अधिकारीको कथा एवं पटकथा छ। फिल्मका निर्माता सरोज खाती, सविन खाती, मनोज रिजाल हुन् ।
यो महिनाको अन्तिम दिन प्रदर्शन भएको फिल्म हो ‘बुलाकी’ । फिल्म यसअघि पनि प्रदर्शन भइसकेको हो । रि-रिलिजमा आएको फिल्ममा सुरक्षा पन्त र नरेर खड्काको मुख्य भूमिका रहेको छ। फिल्मले रि रिलिजमा कस्तो साथ पाउँछ त्यो भने हेर्न बाँकी नै छ । यस बक्सअफिस रिपोट यस महिनामा थाहा हुने छ ।
के होला भदौ मिहना ?
यसरी साउनको महिना हेर्दा पूरै फिल्मको व्यापारमा सुनसान देखियो । तर भदौमा भने निकै सम्भावना भएका फिल्म छन् । ठूला ब्यानरको फिल्म साथै स्टाडम भएका कलाकारको फिल्म लाग्ने भएकाले यो भदौलाई लिईएर भने धेरै आशावादी छन् ।
भदौको पहिलो साता लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ प्रदर्शनमा आउँदै छ । यो फिल्मकी मुख्य नायिका नै मलिका महत रहेकाले यो पुरै फिल्मलाई नै मलिकाले बोक्नु पर्ने देखिएको छ । यस्तोमा फिल्मलाई दर्शकले रुचाउँछन् रुचाउँदैनन् यो भने हेर्न बाँकी नै छ ।
‘सतीदेवी’सँगै प्रदर्शनमा आउने अर्को फिल्म हो ‘नमेटिने घाउ’ । मुस्कान खातुङ लगायत अन्य धेरै एसिड आक्रमण बाट पीडितहरूको कथा बोकेको यो फिल्मको निर्देशकको रुपमा अभिनेता रमित ढुङ्गगाना फेरी फिल्ममा कमव्याक गर्दै छन् ।
रमितको कमव्याकले त त्यसै पनि यो फिल्म विशेष बनेको नै छ । अझ, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र ज्ञानेन्द्र शाही जस्ता राजनीतिज्ञ पनि यस फिल्ममा भएकाले यो फिल्मबाट निर्माण पक्षले आशा राखेका छन् ।
यता भदौको १४ गते भने मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड बधू’ रिलिज हुँदैछ । आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, कुसुम शर्मा, किरण केसी लगायतका कलाकार गहेको यस फिल्मलाई लिइएर दर्शक पनि उत्साहित नै देखिएका छन् ।
निकै ठूलो क्यान भासमा तयार पारिएको यस फिल्मको ट्रेलर हेर्दा लाग्छ कि यो फिल्म बनाउन निर्माताले पानीसरी पैसालाई बगाएका छन् । ठूलो लगानीमा बनेको यो फिल्मको खर्च उठ्न ठूलो मात्रामा दर्शक हलसम्म जानु पर्छ । अब दर्शकले हलसम्म जान्छन् जाँदैनन् यो भने हेर्न बाँकी नै छ ।
यता भदौ २१ गते भने फिल्म क्षेत्रकै लागि विशेष दिन रहने देखिएको छ । कारण पल शाह लामो समयको ग्यापपछि फिल्म पुजार सार्कीमा देखिएका पललाई उक्त फिल्मका दर्शकले खुब मन पराए । अब उनी फेरि फिल्म ‘रावायण’ मार्फत दर्शक माझ आउने भएका छन् । पछिल्लो समय पलको क्रेज निकै राम्रो भएकाले मेकरहरु फिल्म चल्नेमा ढुक्क पनि देखिएका छन् ।
अझ म यस्तो गीत गाउँछु जस्तो हिट फिल्म दिइएको सुदर्शन थापा, पल शाह र पूजा शर्माको टिम फेरि एकै साथ आउने भएकाले पनि दर्शक केही हदसम्म उत्साहित देखिएका छन् । तर यो मितिमा संजोग राईले निर्देशन गरेको फिल्म देवी पनि आउने भएको छ । यो फिल्मको टिजरले निर्मला पन्तको जीवनीमा तयार पारिएको सङ्केत दिइएको भएकाले यो फिल्म पनि दर्शकले हेर्न सक्ने सम्भावना धेरै छ । अझ शिल्पा मास्के, नाजिर हुसेन र गौरव पहारी जस्ता निखारिएका कलाकर भएकाले पनि दर्शकको ध्यान यो फिल्मले तान्ने देखिन्छ ।
त्यस्तै भदौँ महिनाको अन्तिम शुक्रबार २८ गते भने निर्देशक मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘साम्बाला’ प्रदर्शन हुँदैछ । अब यो फिल्मको व्यापार कस्तो होला ? त्यो भने हेर्न बाँकी छ ।