धेरै मानिसहरु बिहान उठ्नेबित्तिकै धेरै पानी पिउने गर्छन्, किनभने यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर, के तपाईले धेरै पानी पिउनु पनि हानिकारक हुन सक्छ भन्ने सोच्नुभएको छ ?
खासगरी खाली पेटमा धेरै पानी पिउनु स्वास्थ्यका लागि राम्रो होइन । तसर्थ, बिहानको समयमा सही मात्रामा पानी पिउनुपर्छ र बढी पानीले के-कस्ता समस्या निम्त्याउँछ भन्ने जान्नु आवश्यक छ।
इलेक्ट्रोलाइट्सको असन्तुलन
हाम्रो शरीर इलेक्ट्रोलाइट्सको सन्तुलनमा निर्भर गर्दछ। इलेक्ट्रोलाइटहरू खनिजहरू हुन्, जसले शरीरको धेरै महत्त्वपूर्ण कार्यहरूमा मद्दत गर्दछ।
जब हामी धेरै पानी पिउछौं, यो सन्तुलन बिग्रन सक्छ। यसले कमजोरी, थकान र टाउको दुख्ने जस्ता समस्याहरू निम्त्याउन सक्छ।
मृगौलामा दबाब बढ्छ
मृगौलाको काम शरीरबाट विषाक्त तत्व बाहिर निकाल्नु हो । हामीले आवश्यकताभन्दा बढी पानी पिउँदा मृगौलामा दबाब बढ्छ । जसका कारण मिर्गौलाले राम्रोसँग काम गर्न सक्दैन र भविष्यमा मिर्गौला सम्बन्धी समस्या निम्त्याउन सक्छ ।
हाइपोनेट्रेमियाको जोखिम
धेरै पानी पिउनाले शरीरमा सोडियमको मात्रा कम हुन्छ, जसलाई हाइपोनेट्रेमिया भनिन्छ। यो अवस्था एकदम गम्भीर हुन सक्छ। यसका लक्षणहरूमा बान्ता हुने, मांसपेशी दुख्ने र टाउको दुख्ने हुन्छ। समयमै उपचार गरिएन भने यसले ज्यान पनि लिन सक्छ ।
पाचन प्रणालीमा प्रभाव
खाली पेटमा धेरै पानी पिउनाले पाचन प्रणालीलाई पनि असर गर्छ । यसले ग्यास, अपच र पेट फुल्ने जस्ता समस्या निम्त्याउन सक्छ।
के भन्छन् विज्ञ ?
बिहान उठ्नेबित्तिकै पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक भए पनि यसको मात्रामा ध्यान दिनु आवश्यक रहेको विज्ञहरू बताउँछन् । सामान्यतयाः १-२ गिलास पानी पर्याप्त हुन्छ। तपाईंले योभन्दा बढी पानी पिउनबाट जोगिनै पर्छ, विशेषगरी यदि तपाईंको पेट खाली छ भने।
सही तरिका के हो ?
मनतातो पानी पिउनुहोस् : बिहान उठ्ने बित्तिकै मनतातो पानी पिउनु राम्रो हुन्छ । यसले तपाईंको पाचन प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्छ।
बिस्तारै पिउनुहोस्: एकैपटक धेरै पानी पिउनु हुँदैन। बिस्तारै पानी पिउनुहोस् ताकि शरीरले यसलाई राम्रोसँग अवशोषित गर्न सकोस्।
आफ्नो आवश्यकता बुझ्नुहोस्: प्रत्येक व्यक्तिको शरीरको आवश्यकता फरक हुन्छ। आफ्नो दैनिक दिनचर्या, मौसम र शारीरिक क्रियाकलाप अनुसार पानी पिउनुहोस्।
महत्त्वपूर्ण कुराहरू
बिहान खाली पेटमा पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर, धेरै पानी पिउनु हुँदैन । सही मात्रामा र सही तरिकाले पानी पिउनाले तपाईंको स्वास्थ्यको लागि राम्रो हुनेछ। एजेन्सीबाट