काठमाडौं । बलिउडका चर्चित पटकथा लेखक जोडी सलिम खान र जावेद अख्तरमा आधारित डकुमेन्ट्री सिरिज ‘एंग्री यंग म्यान’ अगस्ट २० मा रिलिज हुँदै छ ।
तीन एपिसोडको यो सिरिज अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिनेछ । ‘एन्ग्री यंग म्यान’ सिरिजलाई नम्रता रावले निर्देशन गरेकी हुन्, जसले यसबाट निर्देशकको रूपमा डेब्यु गर्दैछिन् । एकै समयमा, यसको कार्यकारी निर्माताहरूमा जोया अख्तर, सलमान खान, फरहान अख्तर रहेका छन् ।
बलिउडमा सलिम जावेदको जोडी निकै चर्चित जोडी हो । ७० र ८० को दशकमा कैयौँ सुपरहिट फिल्म दिएको यो जोडी लामो समय पछि आफ्नै डकुमेन्ट्रीका लागि साथ आएको हो । यसको पहल जावेद अख्तरकी छोरी जोया अख्तरले गरेकी हुन् ।
लामो समयपछि सलिम खान र जावेद अख्तरलाई सँगै ल्याउने पहल आफूले नै गरेको जोयाले बताएकी छन् । यस पहलले सलिम-जावेदको जोडीले कसरी काम गर्थ्यो, उनीहरूको मित्रता कस्तो थियो भन्ने नयाँ पुस्तालाई जानकारी हुने उनले बताएकी छन् ।
सलिम र जावेदले १९७१ देखि १९८७ सम्म एक साथ २४ फिल्ममा काम गरेका थिए, जसमा २० फिल्म कमर्सियली सफल रहेका थिए । उनीहरूले यादोकी बारात, जंजिर, दीवर, शोले, काला पथ्थर, दोस्ताना, मजबूर, सीता और गीता, मिस्टर इन्डिया जस्ता फिल्म लेखेका थिए ।
प्रतिक्रिया दिनुहोस्