काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुद्धढ बनाउने अवसर आएको बताएका छन् । आइतबार शहीद रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।,
प्रचण्डले गठबन्धन परिवर्तनलाई पार्टी निर्माणको अवसर पनि भएको बताए । “हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ, यो अपवित्र छ, यसको उद्देश्य गलत छ”, उनले भनेका छन्, “यो पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउने अवसर हो, हामी त्यतातिर केन्द्रीत हुनुपर्छ ।”
अहिले विशेषगरी नयाँ गठबन्धनले जनताको मुद्दामाथि धावा बालिहेको भन्दै उनले जनतामा जाने अवस्था बनेको पनि बताए । “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्, जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन”, उनले भने, “मैले सदन र सडकबाट संघर्षको बिकल्प देखेको छैन।”
पार्टी निर्माणबारे स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल भएको उनले बताए । उनले पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढिसकिएको समेत प्रचण्डले जनाएका छन् ।
माओवादी घटकहरुसँगै बाम एकतातर्फ पनि अनुकुलित वातावरण बनेको प्रचण्डको धारणा छ । वैचारिक र कार्यनीतिक हिसाबले धेरै दलहरुसँग सहकार्यको सजिलो अवस्था बनेको उनले बताए ।