काठमाडौं । सहकारीको रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री विपिनकुमार आचार्यसँग बयान लिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसँग बयान लिएको हो । उनले सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलन गरेका थिए ।
सहकारीबाट २०७८ पुस १२ गते आचार्यको नाममा एक् करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको देखिन्छ । उनले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खातामा जम्मा गरेको आरोप छ । सोही कम्पनीमा रास्वपा सभापति रवि लामिछानेको नाम जोडिएको छ ।
समिति बयानका लागि हाजिर भएकाले दिएको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग छानविनका लागि निष्कर्षमा पुग्न सरोकारवाला निकायलगाउत सहकारी ठगीमा मुछिएकालाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ ।
छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम भइरहको समितिका संयोजक सूर्य थापाले बताए । यसअघि सदनमा सहकारी प्रकरणमा छानविन गर्नु पर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो ।