३ हजारको बिन्दुबाट फेरि तल ओर्लियो नेप्से-Sutra News

३ हजारको बिन्दुबाट फेरि तल ओर्लियो नेप्से

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा उच्च गिरावट आएको छ । साताको पहिलो कारोबार दिन ३४.४७ अंकले घट्दै नेप्से २९६६.३३ को बिन्दुमा झरेको छ । समग्रमा नेप्से १.१४ प्रतिशतले घटेको छ ।



यस दिन नेप्सेका १३ समूहमध्ये ९ समूहको सूचक घट्यो भने चार समूहको सूचकमा झिनो अंकले वृद्धि भयो । यस दिन सबैभन्दा धेरै होटल तथा पर्यटन, जलविद्युत र अन्यको सूचकमा गिरावट आयो ।

विकास बैंकको सूचक २.२५ प्रतिशतले घट्दा, वित्तको सूचक २.७९ प्रतिशतले घट्यो भने होटल तथा पर्यटन ४.४९ प्रतिशतले घट्दा जलविद्युत ३.७४ प्रतिशतले घट्यो ।

यस्तै, लगानी समूहको इन्डेक्स ०.६४ प्रतिशतले घट्दा उत्पादन तथा प्रशोधन २.५८ प्रतिशतले घट्यो भने लघुवित्त ०.३१ प्रतिशतले घट्दा अन्य ३.०४ र व्यापार १.३२ प्रतिशतले घट्यो ।

उच्च अंकले गिरावट आउँदा नेप्सेका वाणिज्य बैंक ०.८४ प्रतिशतले बढ्यो भने जीवन बिमा ०.०१ प्रतिशतले बढ्यो । यस्तै, लगानी समूह ०.३८ प्रतिशतले बढ्दा निर्जीवन बिमा ०.४६ प्रतिशतले बढ्यो ।

यस दिन कारोबारमा आएका २४४ कम्पनीमध्ये १९७ को मूल्यमा गिरावट आउँदा ४७ को मूल्यमा वृद्धि भयो । उच्च अंकले घट्दा पनि यस दिन राष्ट्रिय बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टी प्रपोज फाइनान्स, सम्पदा लघुवित्त र लविर्टी इनर्जीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आज यसअघि जस्तै नेपाल फाइनान्सको मूल्यमा नकारात्मक सर्किट लाग्यो ।

उच्च अंकले नेप्से घटेपनि कारोबार रकममा भने खासै गिरावट आएन । यस दिन ६ करोड ५४ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको भयो । यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स, अपि पावर लिमिटेड, कुमारी बैंक लिमिटेड, हाइड्रो इलोक्ट्राेसिटीलगायतको कारोबार उच्च रह्यो । यस दिन हिमालयन रिको मात्रै कारोबार रकम ८२ करोड १४ लाख रुपैयाँको भयो ।

विशेषगरी लगानीकर्ता नाफा बुक गर्न तम्सिँदा यस दिन नेप्सेमा गिरावट आएको देखिन्छ । उच्च वृद्धि भएका कम्पनीको कारोबार उच्च हुनले पनि सोही दिशातर्फ सङ्केत गर्दछ ।

यसअघि बिहीबारको अन्तिम कारोबार समय पनि केही लगानीकर्ता नाफा बुक गर्न उद्धत देखिँदा नेप्सेमा उच्च अंकले उथलपुथल देखिएको थियो । आइतबार पनि सोही लगानीकर्ता हाबी हुँदा नेप्से घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट