सुरेन्द्रराज रेग्मीले सम्हाले ग्लोबल आइएमई बैंकमा सीईओकाे जिम्मेवारी-Sutra News

सुरेन्द्रराज रेग्मीले सम्हाले ग्लोबल आइएमई बैंकमा सीईओकाे जिम्मेवारी

आइतबार, २ भाद्र २०८१

आइतबार, २ भाद्र २०८१

काठमाडाैं । ग्लोबल आईएमई बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि सीईओ रेग्मीले बैंकको सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।



रेग्मीसँग बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी काम गरेको लामो अनुभव छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका उनी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए ।

ग्लोबल आईएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापनलगायत समग्र बैंकिङको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रूपमा परिचित छन् ।

उनीसँग बैंकिङ क्षेत्रको करिब ३५ वर्षभन्दा लामो अनुभव रहेको छ । रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतको युनिभर्सिटी अफ वेल्सबाट एमबीए गरेका छन् ।

शपथग्रहण कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे । उनले सीईओ रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आमसेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए ।

‘रेग्मी ग्लोबल आईएमई बैंकको सुरुदेखि नै यस बैंकमा हुन्नुहुन्छ । लामो समय बैंकिङ क्षेत्रमा रहनुभएका उहाँ एक अनुभवी बैंकर हो । उहाँले यस बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दा नियामकीय निर्देशनहरूको अधीनमा रही उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने र शेयरहोल्डरहरूलाई यथोचित प्रतिफल प्रदान गर्नेमा म विश्वस्त छु,’ अध्यक्ष ढकालले भने ।

पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महसुस भएको बताए ।

उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितिलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

रेग्मीले ग्लोबल आईएमई बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउन आफूले प्रयत्न गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट