तस्बिरमा जनै पूर्णिमा तथा रक्षाबन्धन-Sutra News

तस्बिरमा जनै पूर्णिमा तथा रक्षाबन्धन

सोमबार, ३ भाद्र २०८१

सोमबार, ३ भाद्र २०८१

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व आज देशभर धुमधामका साथ मनाइँदै छ। रक्षाबन्धन बाँध्न तथा नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरसहिदका विभिन्न मठमन्दिर तथा नदी किनारमा मानिसहरुको घुइँचो छ ।



आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो)लगाउने गर्दछन् ।

वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। शिखाहरू मध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरु पुरोहितकहाँ जाने गर्दछन् ।

सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ। ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन अध्यायोपाकर्म गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न न सक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

तस्बिर सबै राससबाट

तस्बिरमा हेर्नुहोस् रक्षाबन्धन

पशुपतिनाथ मन्दिरस्थित बागमती नदी किनारामा सोमबार जनैपूर्णिमामा स्नान गरि जनै फेर्दै भक्तजन ।
पशुपतिनाथ मन्दिर भक्तजन ।

देवघाटमा श्रावणी स्नान गर्दै
बबईमा श्रावणी स्नान गर्दै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट