काठमाडौं । चन्द्र पन्तले निर्देशन गरेको फिल्म ‘ह्रस्व दीर्घ’ले नयाँ रिलिज डेट लिएको छ । जनै पुर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।
यसअघि असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्राविधिक काम नसकिने भएपछि रिलिज सार्दै कार्तिक ३० मा पुगेको छ ।
अभिनेत्री नीता ढुंगानाको निर्माण भएको फिल्म कार्तिक ३० बाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी निर्माण कम्पनिले दिएको छ । हाल फिल्मको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भइरहेको छ । दर्शकलाई एउटा पुर्ण रुपमा मनोरञ्जन दिने फिल्म पस्किने उद्देश्यले प्राविधिक काममा कुनै कम्प्रमाइज नगरिएको अभिनेता हरिहर अधिकारीले बताए ।
फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो फिल्मनेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली फिल्ममा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली फिल्म हो ।
विजय वस्यालले पोस्टर डिजाइन गरेको फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।