क्राइम थ्रिलर ‘देवी’को ट्रेलरमा बलात्कार, हत्या र अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव-Sutra News

क्राइम थ्रिलर ‘देवी’को ट्रेलरमा बलात्कार, हत्या र अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव

सोमबार, ३ भाद्र २०८१

सोमबार, ३ भाद्र २०८१

काठमाडौं । फिल्म ‘देवी’को ट्रेलर सार्वजनिक भएको छ । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने फिल्मको आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच २ मिनेट ३९ सेकेण्ड लामो ट्रेलरले सार्वजनिक गरिएको हो ।



सञ्जोग राईले निर्देशन गरेको फिल्म क्राइम थ्रिलर जनरामा छ ।

सार्वजनिक ट्रेलरले समाजमा घट्ने बलात्कार जस्ता अपराजन्य घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा पेश गरेको छ ।

महिलामाथि हुने यौनहिंसाविरुद्धको कथा रहेको ट्रेलरमा निर्मला पन्तको बलात्कार, हत्या र अनुसन्धानका घटना समेटेको देखिएको छ । फिल्म निर्मला पन्तको घटनाका विषयमा बनेको छ । जहाँ घटनाको अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव ट्रेलरमा देखिन्छ ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा डेव्यु निर्देशक संजोग राईले आफु प्रोफेसनल फोटोग्राफर भएपनि आफ्नो बच्चादेखिको सपना पुरा गर्न सिनेमा निर्देशन गरेको बताए । कोरोना अगाडीबाट नै सुरु गरिएको सिनेमा निर्माणका क्रममा आफुले विभिन्न उतार चढाव फेस गर्दै आज रिलिज गर्ने अवस्थामा पुगेको भन्दै खुशी व्यक्त गरे ।

आफुले यो सामाजिक कथामा सिनेमा निर्माण गर्न लाग्दा धेरैले कमर्सियल कथामा काम गर्न सुझाव आएपनि समाजिक न्यायका लागि यस्ता कथा भनिनु पर्छ भन्ने लागेकाले ‘देवी’ बनाएको निर्देशक राईले बताए ।

फिल्ममा शिल्पा, गौरव, नाजिरसँगै टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का, विकास पन्तलगायतको अभिनय छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।

‘देवी’की मुख्य पात्रका साथै सह-निर्माताको रुपमा रहेकी अभिनेत्री शिल्पा मास्केले कथा राम्रो लागेकाले अभिनयसँगै निर्माणमा पनि टिमलाई सघाएको बताइन् । समाजलाई सचेत बनाउने र सन्देश प्रवाह गर्ने सिनेमाको हिस्सा बन्न पाउँदा निकै खुशी लागेको उनको भनाइ रहेको छ।

‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । यस फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । प्रदर्शनका लागि यो सिनेमा निर्माण टिमले बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

जोएल फ्रोमले छायांकन रहेको फिल्ममा सन्जेन थापाको एक्सन रहेको छ । नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट