काठमाडौं । शुक्रबारबाट दोस्रो पटक रिलिजमा आएको फिल्म ‘बुलाकी’ले सुखद सुरुवात गरेको छ । सुदुरपश्चिममा रहेको जारी प्रथाको कथा भन्ने यस फिल्मले शुक्रबार र शनिबार दर्शकको राम्रो साथ पाएको निर्माणपक्षको भनाइ छ ।
अघिल्लो वर्ष २ दिन रिलिज भएर हलबाट बाहिरिएको फिल्मलाई निर्माण टिमले पुन: प्रदर्शनमा ल्याएको हो ।
शनिबार राजधानी र मोफसलका अधिकांश शोजहरू हाउसफूल रहेको स्कृनसटसहितको अपडेट निर्माता तथा कलाकार विराज बिष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । शनिबार दिनभर फिल्मले ७० प्रतिशतमाथिको अकुपेन्सी कायम राख्न सफल भएको वितरक करण श्रेष्ठले बताए ।
पश्चिम नेपालको कर्णाली तथा सुदूरपश्चिम भेगको स्थानीय कथा उठान गरेको फिल्मलाई पश्चिमेली दर्शकले राम्रो साथ दिएका छन् । शनिबार पश्चिम नेपालको नेपालगन्ज, दाङ, बुटवल,पोखरामा फिल्मले हाउसफूल व्यापार गर्न सफल रह्यो ।
सोमबार देशभर र मंगलबार काठमाडौंमा सार्वजनिक बिदा भएकाले पनि फिल्मले व्यापारिक रुपमा उछाल ल्याउने अपेक्षा गरिएको छ ।
पुनः रिलिजमा आएको फिल्मको केही दिन राजधानीमा आयोजित विशेष प्रदर्शनीमा पूर्व उपप्रधानमन्त्री भिम रावल, चर्चित गायक प्रकाश सपूत, गायिका मञ्जु पौडेल, निर्देशक आकाश अधिकारी, नरेश पौड्याल, अभिनेता पुष्प खड्का लगायतले फिल्म हेरिसकेपछि उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।
पूर्व उपप्रधानमन्त्री रावलले पश्चिमेली समाजको यथार्थता फिल्मले पस्केको भन्दै फिल्मले बोकेको पश्चिमेली भाषामै दर्शकलाई सम्बोधन गर्दै नेपाली कला संस्कृति बुझ्न यो फिल्म हेर्न आग्रह गरेका थिए ।
यस्तै, गायक सपूतले ‘बुलाकी’ नेपाली समाजको एक दस्तावेज भन्दै छुटाउन नहुने फिल्मको सुचीमा राख्नुपर्ने र सबैले हेर्नुपर्ने फिल्म रहेको बताए ।
यसअघि नेपाल सरकारबाट विशेष फिल्मको पुरस्कार प्राप्त गरिसकेको फिल्मले विभिन्न अवार्ड समारोहहरूमा उत्कृष्ट बन्दै अब्बलता देखाइसकेको छ । निर्माता बिष्टले दर्शकबाट प्राप्त वर्ड अफ माउथले फिल्मलाई लामो रेसको घोडाको रूपमा अघि लैजाने विश्वास पोखे ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, सुशील पोखरेल, रमेश बुढाथोकी, लक्ष्मी गिरी लगायत प्रमुख अभिनयमा छन् ।