काठमाडौं । सरकारले लोकप्रिय सामाजिक सञ्जाल ‘टिकटक’माथिको प्रतिबन्धन खुला गर्ने भएको छ । प्रतिबन्ध गर्ने निर्णय गरेको करिब १० महिनापछि सरकार पुनः खुला गर्ने तयारीमा पुगेको हो ।
सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै तत्कालिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कार्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध गरेको थियो ।
तर, नेपालको सबै ऐन/नियम पालना गर्ने प्रतिवद्धतासहित टिकटकले दोहो¥याएर पत्राचार गरेसँगै सरकार खुला गर्ने तयारीमा पुगेको हो । सञ्चार मन्त्रालय स्रोतले जनाएअनुसार केही दिनअघि टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले खुला गरिदिन आग्रह गर्दै पठाएका थिए । उनले पत्रमा नेपालभित्र लागु हुने सबै ऐन/कानुनहरु पालना गर्न तयार रहेको जनाएका छन् ।
टिकटकले यसअघि पनि सरकारलाई पत्र लेख्दै नेपालका कानुनहरु पालना गर्न प्रतिबद्धता जनाएको थियो । यद्यपि, पछिल्लो पत्राचारसँगै सरकार सकारात्मक बनेको हो ।
स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेका छन् । बताइएअनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट टिकटक खुला गर्ने निर्णय हुनेछ ।
पछिल्लो समय दुई छिमेकी चीन र भारतबिच सम्बन्ध सुधारको काममा लागेको वर्तमान सरकारले टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्नुका पछाडि भू–राजनीतिक प्रभाव समेत रहेको विश्लेषकहरूको दाबी छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डले २०८० असोज ५ गते अमेरिका हुँदै चीन भ्रमणबाट फर्किए लगत्तै १३ असोजको मन्त्रीपरिषद् बैठकबाट टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएपछि तत्कालीन सरकारले पश्चिमाहरूको प्रभावमा परेर चीनविरोधी निर्णय गरेको भन्दै चीनले असन्तुष्टि व्यक्त गरेको थियो ।
टिकटक प्रतिबन्धको निर्णय लगत्तै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई भेटेरै असन्तुष्टि व्यक्त गरेका थिए ।