काठमाडौं । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता एक अर्ब ८८ करोड ९७ लाख पाएको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार ११५ पटक सेवा पाएका छन् ।
सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विं.सं. २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।
पहिलो वर्ष ३२ हजार ६०२ दुई पटक सेवा दिइएको थियो । त्यसवापत अस्पतालले बीमा बोर्डबाट एक करोड २९ लाख पाएको थियो । आर्थिक वर्ष २०७५/७६ मा एक लाख १२ हजार ९९१ पटक सेवा दिएबापत अस्पतालले १४ करोड ५७ लाख २८ हजार पाएको थियो ।
इञ्चार्ज पौडेलका अनुसार आव २०७६/७७ मा एक लाख १४ हजार आठ सय ५२ पटक सेवा दिएर २३ करोड ८८ लाख, २०७७/८ मा कोभिडका कारण सेवा लिनेको संख्या घट्दा नौ करोड ७२ लाख ५२ हजार बीमा रकम पाएको थियो ।
आव २०७८/ बाट बीमामार्फत उपचार गराउनेको संख्या बढेसँगै एक लाख ७८ हजार ५५३ पटक सेवा लिइएको थियो । त्यसबापत अस्पतालले ३० करोड ७९ लाख ७४ हजार प्राप्त गरेको थियो ।
आव २०८९/८० मा ५२ करोड ५३ लाख पाउँदा गएको आवमा दुई लाख ६० हजार पटक सेवा दिएर ५६ करोड १६ लाख ८८ हजार पाएको थियो । अस्पतालले थप १५ करोड रुपैयाँ हाराहारी दाबी गरेको रकम भुक्तानी पाउन बाँकी रहेको छ ।
अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गर्दछन् । सोहीअनुरुप अस्पतालमा उठ्ने सेवा शुल्क पनि हुने गर्दछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार स्वास्थ्य बीमाको सेवा अस्पतालमा राम्रो भएकाले आकर्षण बढ्दो छ ।
अस्पतालमा चितवनसहित गोरखा, तनहुँ, नवलपरासी र मकवानपुरका कतिपय पालिकाका सेवाग्राहीले बीमाको प्रथम बिन्दु बनाएका छन् । नेपालमा ०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । अहिले नेपालका ७७ जिल्लामा यो कार्यक्रम लागू छ ।
देशभरका ४७६ स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ । प्रा.डा. पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम भएको जनाउँदै भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत बीमा भएको बताए ।
बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजान अस्पताल प्रशासनले जनाएको छ । यद्यपि, अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट रहेको जनाउँदै पौडेलले अस्वीकृत निकै न्यून रहेको जानकारी दिए ।