काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणा अहिले भारत भ्रमणमा छिन् । उनी भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणमा भारत पुगेकी हुन् ।
भारत भ्रमणका क्रममा राणाले समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी छिन् । त्यसबाहेक उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि विशेष भेट गरेकी छिन् । राणाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निम्तो पनि दिएकी छिन् ।
औपचारिक एजेन्डा तय नगरिएको भए पनि यो भ्रमणलाई विशेषगरी दुई देशका बीचमा रहेको तिक्तता र अविश्वासको वातावरण हटाउने अवसरको रुपमा हेरिएको छ ।
राणा भारत भ्रमण जानुअघि भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल आएका थिए । उनले राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष सबैजसो दलका नेताहरुलाई भेटेका थिए ।
मिश्रीसँगको भेटका क्रममा परराष्ट्रमन्त्री राणाले हवाई रुटसहित विभिन्न एजेन्डालाई प्राथमिकतामा राखेकी थिइन् । सोआधारमा राणाको भ्रमणका क्रममा ति एजेन्डाहरु प्राथमिकतामा परेको बुझिन्छ ।
भारतसँगको दुरीलाई खुम्च्याउने प्रयास स्वरुप भएको यी भ्रमणहरुका बीच नेपालले पश्चिमा मुलुकसँगको दुरीलाई पनि छोट्याउने प्रयास गरेको छ । अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सोही घटनाक्रमको श्रृंखलाको रुपमा हेर्न सकिन्छ । बर्माले छोटो नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री ओलीसहित शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए ।
जो बाइडेन सरकारका प्रभावशाली मन्त्रीमा पर्ने बर्माको यो भ्रमण कुटनीतिमा अर्थपूर्णरुपमा हेरिएको छ । यो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई अझ प्रभावकारी बनाउने शैलीमा आएको देखिन्छ ।
भारत र अमेरिकालाई प्राथमिकता दिएका प्रधानमन्त्री ओलीले योबीचमा चीनलाई पनि खुसी पार्ने प्रयत्न गरेका छन् । चिनियाँ सामाजिक सञ्जाल ‘टिकटक’माथिको प्रतिबन्ध खुला गर्ने तयारीलाई सोही घटनाक्रमको एउटा श्रृंखलाको रुपमा हेर्न सकिन्छ ।
तत्कालिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १० महिनाअघि टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । चीनको राजकीय भ्रमणपछि प्रचण्डबाट ‘सप्राइज शैली’मा गरिएको सो निर्णयबाट चीन असन्तुष्ट बनेको थियो ।
चीनले उच्च तहबाट सो निर्णय सच्याउन पहल गरेपनि प्रचण्ड सकारात्मक नबन्दा चीनसँगको सम्बन्धमा नै चिसोपन आएको पनि चर्चा तत्कालिन समय चलेको थियो । तर, अहिले ओलीले बिआरआई अनिर्णित भइरहेकै बखत ‘टिकटक कुटनीति’मार्फत चीनलाई खुसी पार्ने प्रयास थालेका छन् ।