काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंका बंगलादेशसँग २-० गोलले पराजित भएसँगै नेपाल सेमिफाइनल पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक-एक गोल गरेको थियो ।
बंगलादेशका लागि खेलको १७ औँ मिनेटमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गरेका थिए । दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
यसअघि समूह ‘ए’को पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि श्रीलंका पराजित भएपछि एक खेलअगाडि नेपालले सेमिफाइनल यात्रा तय गरेको हो । दुई खेलमा पराजित भएपछि श्रीलंका समूह चरणबाटै बाहिरिएको छ ।
बिहीबार नेपालले बंगलादेशको सामना गर्ने भएको छ । यो खेलसँगै समूह ‘ए’को विजेता टोली टुङ्गो लाग्ने छ ।