पहिरोले राष्ट्रिय राजमार्गका ठूला सडक अवरुद्ध-Sutra News

पहिरोले राष्ट्रिय राजमार्गका ठूला सडक अवरुद्ध

मंगलबार, ४ भाद्र २०८१

मंगलबार, ४ भाद्र २०८१

काठमाडौं । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारी साधन आवतजावतमा समस्या भएको छ । सडक विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् । २४४ सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन् ।



मदनभण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । प्यूठानस्थित गर्जेनीमा भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मोरङको चतरा–मुलघाट–माझीटार–अमापु डाँडा–गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या परेको छ ।

यसैगरी, सुर्खेत तल्लो ढुङ्गेश्वर–सातखब्बा–दुल्लु–पिपलकोट–खुलालु–मन्मा–नग्मा–जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडक खण्ड पूर्ण अवरुद्ध भएको छ । तानसेन–रिडी–कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडक खण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण रुपमा अवरुद्ध भएको सडक विभागको तथ्याङ्क रहेको छ ।

भूगर्भविद् डा. सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदा पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनु पर्ने बताए । ‘अविरल वर्षाका कारण माटो गलाएको छ, अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ,’ उनले भने, ‘त्यसैले अत्यावश्यक काममा मात्रै हिँडडुल अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट