काठमाडौं । विश्वमा मंकीपक्स (एमपक्स)को संक्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको संक्रमण पुष्टि भएको छ ।
समाचारमा जनाइएअनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मगाइरहेको छ ।
मंकीपक्सको संक्रमण अफ्रिकी देशमा बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशमा फैलिएको थियो ।
अमेरिकाले कंगोलाई संक्रमणसँग लड्नका लागि ५० हजार खोप दिन आग्रह गरेको बताइएको छ । जापानले सोमबार मात्र बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने बताएको छ ।
विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरेको छ । मंकीपक्सको प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउनु पर्ने डब्लुएचओले जनाएको छ ।
मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिको पहिचान, अनुगमन र सहयोग गर्नु पर्ने संस्थाले जनाएको छ । साथै, संक्रमित मानिसलाई खाना र अन्य सहयोग उपलब्ध गराउन तयार रहन आग्रह गरिएको छ ।