काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधान संशोधनका विषयमा खुला बहस हुनु पर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको द्वितीय स्मृतिमा आयोजित विमर्श कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै खुला बहस हुनु पर्ने बताएका हुन् ।
संविधानका कमी कमजोरीका बारेमा छलफल हुन सक्ने भन्दै उनले मध्यरातमा हस्ताक्षर गरेको कुराले नियतमाथि शंका गर्नु पर्ने स्वभाविक भएको बताए । उनले अहिलेको अवस्थामा आफूबाट भएका कमी कमजोरीलाई दलका नेताहरुले स्वीकार गर्न सक्नु पर्ने पनि उल्लेख गरेका थिए ।
यस क्रममा सत्ता गठबन्धन दल नेपाली कांग्रेस सभापति शेरबहादुुर देउवाले आफूहरूले सबैलाई मिलाएर अगाडि लैजाने बताएका थिए । उनले भने, ‘ओली जी र मबीच भएको सहमति सार्वजनिक छ, त्यो केही कुरा लुकाउनु पर्ने छैन, सबैसँग सल्लाह गरेर गर्ने कुरा हो, त्यसैले कसैले शंका गर्नु पर्ने छैन ।’