काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन्। विश्वविद्यालयका पदाधिकारीमाथि आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिइएको बताउँदै मन्त्री भट्टराईले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न माग गरेकी हुन्।
“सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ, त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु”, मन्त्री भट्टराईले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेकी छिन् ।
भट्टराईले धम्की दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनसमेत गृहमन्त्रीसँग माग गरेकी छिन् ।
त्रिविभित्र अनेकन विवाद उठिरहने र पदाधिकारी तथा प्रध्यापक कुटिने क्रम निरन्तर देखिएपछि मन्त्री भट्टराईले सार्वजनिकरुपमा यस्तो माग गरेकी हुन् ।
पछिल्लो समय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयलाई लिएर त्रिविमा विवाद छ । वरिष्ठताका आधारमा हुनुपर्ने नियुक्तिलाई उल्ट्याउँदै अन्यलाई सिफारिस गरेपछि विवादले उग्र रुपमा लिएको छ । जसको बिच भइरहेका घटना र सम्भावित घटनालाई मध्यनजर गर्दै मन्त्री भट्टराईले यस्तो माग गरेकी हुन् ।