काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले हालै आफूसँग ३ सय अवार्ड रहेको खुलासा गरेका छन् । उनले आफ्नो घरमा एउटा कोठा पनि बनाएका छन्, जहाँ उनले यी पुरस्कारहरू राख्छन् ।
शाहरुखले अवार्ड लिन आफूलाई कुनै लाज नभएको पनि बताए । उनलाई दर्शकको माया पाउन मन लाग्छ ।
द गार्डियनसँगको एक अन्तर्वार्तामा शाहरुखलाई सोधिएको थियो कि उनको घरमा अवार्ड राख्नको लागि कुनै विशेष ठाउँ छ ? जवाफमा अभिनेताले भने– ‘मसँग यो कोठाभन्दा ठूलो कोठा छ । मसँग ३०० अवार्ड छ । मसँग ९ तले कार्यालय छ र त्यहाँ प्रत्येक तलामा केही पुरस्कारहरू राखिएको छ ।’
जब शाहरुखलाई अवार्ड पाउनु मनपर्छ भनेर सोधियो । अभिनेताले भने– ‘मलाई रमाइलो लाग्छ । यो मामिलामा म धेरै निर्लज्ज छु । मलाई अवार्ड लिन मन लाग्छ । मलाई समारोह मन पर्छ । यदि मैले भाषण दिनु पर्यो भने, म अलि नर्भस हुन्छु ।’
शाहरुखले अवार्डप्रति आफ्नो प्रेम व्यक्त गरेको यो पहिलो पटक भने होइन । हालै शाहरुखले मुम्बईमा आयोजित २०२४ दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल अवार्डमा ‘जवान’का लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए ।
दुई फिल्म आइफा अवार्ड २०२४ को दौडमा
हालसालै भारतको ७० औं राष्ट्रिय फिल्म पुरस्कार घोषणा गरिएको छ, जसमा ऋषभ शेट्टीले ‘कान्तारा’ का लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् भने नित्या मेननले ‘तिरुचित्रम्बलम’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् ।
भारतीय फिल्मको सबैभन्दा ठूलो अवार्ड समारोह इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड्स (आइफा) ले सन् २०२४ का लागि मनोनयनहरू पनि घोषणा गरेको छ ।
जसमा रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ ले ११ मनोनयन प्राप्त गरेको छ । यो फिल्म सबैभन्दा धेरै नोमिनेसनका साथ शीर्ष स्थानमा छ । रणवीर सिंह र आलिया भट्ट अभिनित ‘रकी और रानी की प्रेम कहानी’ले १० मनोनयन प्राप्त गरेको छ । योसँगै शाहरुख खानका दुई फिल्म पनि मनोनयनमा अगाडि रहेका छन्। २०२३ का एक्शन हिट फिल्म ‘जवान’ र ‘पठान’ ले लोकप्रिय विधामा ७-७ नोमिनेसन प्राप्त गरेका छन् ।
आफ्नो अभिनयले देशैभर लोकप्रिय बनेका अभिनेता विक्रान्त मेसीले ‘१२ फेल’ का लागि ५ मनोनयन प्राप्त गरेका छन् । यस पटक आइफाको आयोजक राष्ट्र र यसको मिति चाँडै घोषणा गरिने भएको छ।