काठमाडौं । छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को यतिबेला बाँकी रहेको केही प्रतिशतको छायांकन भइरहेको छ । यो फिल्मको छायांकन अब केही दिनमा नै सकिँदै छ भने कार्तिकको १५ गतेबाट प्रदर्शनमा आउँदै छ ।
यो फिल्मको पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको थियो । राजन भुसालको डेब्यु निर्देशनमा निर्माण भइरहेको यस फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी र आना शर्मा शीर्ष भूमिकामा छन् ।
केही दिन अघि यो फिल्मको एक दृश्य खिचिँदै थियो, त्यस क्रममा मिडियासँगको कुराकानीमा नायिका आनाले आबद्ध नभएको प्रोजेक्टको विषयमा कुनै पनि कुरा नगर्ने बताएकी छन् ।
उनले यस्तो भन्नुको पछाडि फिल्म ‘जेरी: अन टप’ बाट बहिर्गमन हुँदाको विषयलाई लिएर हो । यो फिल्मबाट आना निकालिएर एकाएक नायिका जसिता गुरुङको प्रवेश भएको गराइएको थियो ।
त्यस समयमा फिल्म ‘जेरी: अन टप’बाट बाहिरिएको खबर मिडियाबाट मात्र थाहा पाइन् । सुरुवातमा यो फिल्ममा आना र नायक अनमोल केसीको जोडी बाँधिने पक्का भएको थियो । तर, आनाको विषयमा भने निर्माण पक्षले केही पनि बोलेन । यसपछि, आनाले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै आफ्नो असन्तुष्टि पोखिन् ।
‘जेरी: अन टप’बाट बाहिरिएपछि पहिलो पटक मिडियासँग कुराकानी गर्ने क्रममा आनाले यो फिल्मको नाम नै लिन चाहिनन् । उनले भनिन्–‘भएको कुरा त मैले स्ट्याटसबाट स्पष्ट पारिसकेको छु । अहिले म उक्त प्रोजेक्टमा आबद्ध छैन । यसैले, म आफू आबद्ध नभएको प्रोजेक्टको विषयमा सार्वजनिक रूपमा कुरा गर्न चाहन्नँ ।’
आनाले सार्वजनिक रूपमा फिल्मको विषयमा कुरा गर्न नचाहेर ‘जेरी: अन टप’को नाम नै लिन चाहिनन् । उनले, बरु ‘एक्टर’ फिल्मका नायक प्रदीप खड्काको सामाजिक सञ्जालप्रतिको रुचिको विषयमा कुरा गरिन् । उनले, प्रदीप सामाजिक सञ्जालमा निकै कम सक्रिय भएको तर्क गरिन् । एउटा सन्देश पठाएको केही दिनपछि मात्र प्रदीपको जवाफ आउने गरेको उनले बताइन् ।