काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलवारको तुलनामा बुधवार प्रतितोला ८ सय रुपैयाँले बढ्दै सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मै उच्च मूल्य हो ।
यसअघि भदौ २ मा प्रतितोला एक लाख ५२ हजार ६ सय रुपैयाँ पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । यद्यपि, बुधवार सो रेकर्डलाई समेत तोड्दै सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ ।
सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा चाँदीको मूल्य पनि निरन्तर उकालोमा छ । मंगलवारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढ्दै बुधवार चाँदी प्रतितोला १८३५ रुपैयाँ पुगेको छ ।
चाँदी पछिल्लो एक साताको बिचमा मात्रै प्रतितोला १०० रुपैयाँले बढेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश २५१६ डलर रहेको छ ।
विशेषगरी मध्यपूर्वमा तनाव बढ्दै गर्दा सुनचाँदीको मूल्यले निरन्तर रेकर्ड बनाइरहेको छ । बढ्दो तनावका बिच सुनचाँदीको मूल्यमा थप वृद्धि हुने सम्भावना बढेको बजार विश्लेषकहरूको भनाई छ ।
यद्यपि, मूल्यमा तीव्र उतारचढाव भइरहँदा किनबेच भने निकै प्रभावित भएको छ । पछिल्लो समय मूल्य बढेसँगै किनबेच निकै घटेको व्यवसायीहरू बताउँछन् ।