काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नु पर्ने बताएका छन् ।
स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाले कामका लागि स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् ।
‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नु पर्ने छ, सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनु हुन्न, यसलाई अभियानका रूपमा लानु पर्छ,’ उनले भने ।
उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिए ।
यी उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनु पर्ने बताए । यस क्रममा उनले उनले केही ठग तत्वहरू सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे ।
‘हामी सरकारमा झण्डा हल्लाउन आएका होइनौँ, यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन, केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ,’ उनले थपे ।
यस क्रममा उपप्रधान मन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महांघका अध्यक्ष चन्द्र ढकाललगायत सहभागी कार्यक्रम दुई दिनसम्म चल्ले छ ।