काठमाडौं । निकै तिक्ततापूर्णरूपमा स्थायी समिति बैठकलाई टुङ्ग्याएको माओवादी केन्द्रले आजदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु गरेको छ । केन्द्रीय समितिको बैठकको तयारीका लागि भन्दै केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा छलफल गराउने शैलीमा परामर्श समितिको बैठक डाकिएको हो ।
पहिलो चरणका रूपमा बागमती प्रदेशका केन्द्रीय समिति र पदाधिकारीहरूको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बुधवारदेखि सुरु भएको परामर्श समितिको बैठकमा पार्टीका पदाधिकारी तहका नेताहरू पनि सहभागी रहेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
परामर्श समितिको बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल गरिने उपाध्यक्ष सापकोटाले जानकारी दिए । क्रमबद्ध चल्ने परामर्श समितिका बैठक असोज ३ गते टुङ्ग्याउने तयारी छ ।
विशेषगरी स्थायी समिति नै विभाजित बनेको उपमहासचिव जनार्दन शर्माको ‘नीति र नेतृत्व फेर्ने प्रस्ताव’माथि परामर्श समितिमा पनि विशेष छलफल हुने देखिएको छ । शर्मा निकट एक नेताले बताएअनुसार सो प्रस्तावलाई नै केन्द्रित बनाएर छलफल गराउने तयारी भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्माको सो प्रस्तावलाई घुमाउरो शैलीमा स्थायी समितिको बैठकबाट पन्छाइदिएका थिए । आफूलाई नै चुनौती दिँदै शर्माले तयार गरेको प्रस्तावलाई पूर्ण खारेज गराउने शैलीमा उनले परिपत्र पनि जारी गरेका थिए ।
यद्यपि, परामर्श समितिको बैठकमा प्रचण्ड फेरि एक पटक सो प्रस्तावलाई सामना गर्नुपर्ने अवस्थामा देखिन्छन् । शर्मा पक्षले सो प्रस्तावलाई नै केन्द्रित गरेर छलफल बढाउने तयारी गरेको छ ।
केन्द्रीय समितिको तयारीका लागि भन्दै डाकिए पनि परामर्श समितिको बैठक विशेषगरी तल्लो तहका नेताको नाडी छाम्ने शैलीमा बोलाइएको देखिन्छ । माओवादीका एक पदाधिकारी परामर्श समितिको बैठकबाट केन्द्रीय समिति र प्रदेश तहमा कस्तो माहौल छ भन्ने स्पष्ट हुने बताउँछन् ।
“पदाधिकारी र सचिवालय तहमा हामी करिब निरन्तर जसो छलफलमै छौँ, यो सन्दर्भमा केन्द्रीय समिति र प्रदेश तहको अवस्था के हो भन्ने कुरा यो बैठकबाट स्पष्ट देखिन्छ”, उनले भने, “पार्टीको अवस्था पनि यसले स्पष्ट पार्छ । आगामी केन्द्रीय समिति बैठक बसाल्ने सन्दर्भमा पनि यसले सजिलो बनाउँछ ।”