काठमाडौं । हुम्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली २ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ ।
चालकसहित सात जना सवार जिपमा पाँच जना घाइते हुँदा दुई जनाको अवस्था सामान्य छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका १३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल छन् ।
बाजुरा बुढीनन्दा नगरपालिका ४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली २ का मायादेवी शाही सामान्य घाइते भएका छन् । दुर्घटना हुनासाथ मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको टोली घटना स्थलमा पुगेर उद्धार गरेका थिए । जिप सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।