अखिल क्रान्तिकारी : संगठन कि गुटगत अखडा ?-Sutra News

अखिल क्रान्तिकारी : संगठन कि गुटगत अखडा ?

बुधबार, ५ भाद्र २०८१

बुधबार, ५ भाद्र २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) जसरी गुट गट राजनीतिले थलिने अवस्थामा पुगेको छ, सोही शैलीमा नै भातृ संगठन अखिल क्रान्तिकारी पनि गुट गट राजनीतिको चरम प्रभावमा परेको छ । २३ औँ राष्ट्रिय सम्मेलनको तयारी चलिरहँदा अखिल क्रान्तिकारीमा देखिने नै गरी गुटगत भेला, बैठक तथा छलफलहरू हुन थालेका छन् ।



शान्ति प्रक्रियामा आएसँगै अखिल क्रान्तिकारीमा भित्रिएको गुटगत राजनीति २१औँ सम्मेलनमा सतहमै छरप्रष्ट बनेको थियो । नेता वर्षमान पुनको गुटबाट तत्कालीन समय रञ्जित तामाङ अध्यक्ष बन्दै गर्दा संगठनमा गुटगत राजनीति हाबी हुन थालेको थियो । त्यति बेला उनी एउटा गुटबाट निर्वाचित हुँदा अर्को गुटका अनिल शर्मा, जनार्दन शर्माको गुटबाट पराजित भएका थिए ।

सोही समयदेखि जेलिएको गुटबन्दी २२ औँ राष्ट्रिय सम्मेलनका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तक्षेप गरी सर्वसम्मत नेतृत्व चयन गर्न पञ्चा सिंहलाई अगाडि सारेका थिए । तर, त्यसको ठिक विपरीत संगठनभित्र थप गुटगत राजनीति हाबी हुँदै गयो ।

अध्यक्ष प्रचण्डले पञ्चा सिंहलाई अध्यक्ष बनाए पनि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी नै चलाए । संगठनभित्र अध्यक्ष सिंहले गरेको निर्णयलाई कार्कीको पक्षले आफ्नो तवरबाट पनि निर्णय गराए । यसरी संगठनमा देखिएको विवादले थप कठिन अवस्था हुन पुग्यो ।

संगठनभित्र भद्रगोल भएपछि प्रचण्डले हस्तक्षेप गरेर सबै एक बनाउन प्रयास गरे । जसका कारण अहिले संगठनभित्र पदाधिकारीको सङ्ख्या १७८ र केन्द्रीय समितिमा १५ सयको जम्बो कमिटी बनेको छ । संगठनलाई सम्हाल्न नसकेपछि प्रचण्डले आगामी निर्वाचनमा चुनाव गर्न निर्देशन दिइसकेका छन् ।

चुनावमा जाने निर्णय भएसँगै वरिष्ठ उपाध्यक्ष श्रेष्ठबाट कार्की नै सर्वसम्मत रूपमा अगाडि सार्ने सम्भावना देखिएको छ । संगठनको गुट उपगुटहरू बाहिर देखिएको छ ।

शर्मा गुटले अध्यक्षमा नारायण खनाल वा मदन भुलमध्ये एक जनालाई अध्यक्षमा सार्ने निर्णय गरिसकेका छन् । तर, दुवै जनाले आफ्नो अडान नछाडेपछि कसलाई अगाडि ल्याउने भन्ने अन्योलमा छन् ।

वर्षमानको गुटबाट दिपेश पुन अध्यक्षमा आउने सम्भावना छ । तर, महासचिव देव गुरुङ र उपाध्यक्ष पम्फा भुसालको गुटबाट नरेश रेग्मी वा मिलन एमसीमध्ये एक जना अध्यक्षको दाबेदारका रूपमा देखिएका छन् ।

यहीबिच केही विद्यार्थी नेताहरू भने खुलेर गुट भत्काउने अभियानमा पनि देखिएका छन् । उपाध्यक्ष केशव रावल अहिले सो अभियानको नेतृत्व गरेका छन् ।

केही दिनअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अब सग्लो संगठन बनाएर जानुपर्ने बताएका थिए । गुटले पार्टी धराशायी हुने भएकाले सबै गुट अन्त्य गरेर नेतृत्वभित्र एक हुन आवश्यक रहेको उनको भनाइ थियो ।

‘पार्टी संगठन गुटले चल्दैन, विधि र पद्धतिले चल्ने हो, सबै गुटको अन्त्य गरेर सबै कमिटीलाई निर्वाचन प्रणालीबाट आउने वातावरण बनाएर संगठनलाई एक ढिक्का बनाउनु पर्छ, अध्यक्ष प्रचण्डको नेतृत्वमा सबै संगठन एकबद्ध हुनु पर्छ,’ रावलले भनेका थिए ।

सबै गुटहरूको व्यवस्थापन हुँदै गर्दै जाँदा अन्त्यमा संगठनको नेतृत्वमा तीनदेखि चार जनाबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट