प्रिमियर शोमा ‘सतीदेवी’को कथावस्तुको तारिफ-Sutra News

प्रिमियर शोमा ‘सतीदेवी’को कथावस्तुको तारिफ

बुधबार, ५ भाद्र २०८१

बुधबार, ५ भाद्र २०८१

काठमाडौं । यही शुक्रबार अर्थात् भदौ ७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सतीदेवी’को मंगलबार साँझ प्रिमियर शो गरिएको छ ।



कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियर समारोहमा फिल्मीकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । यसैगरि फिल्मका निर्देशक लक्ष्मण सुवेदी, अभिनेत्री मलिका महत, सन्दीपबाबु लोहनीसहित अन्य कलाकार तथा क्रू पनि प्रिमियरमा सहभागि रहेका थिए ।

प्रिमियर शोमा फिल्म हेर्नका लागि माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अभिनेत्री गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, यांशु श्रेष्ठ, स्मिता लामिछाने, निर्मात्री पूनम गौतम, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, दिवाकर भट्टराई, लक्ष्मण सुनार, शोभित बस्नेत, अभिनेताहरू सलिनमान बनियाँ, कुन्साङ वोम्जोन, सलोन बस्नेत लगायतका हल पुगेका थिए ।

फिल्म हेरेपछि अधिकांशले यसको कथावस्तुको सबैले खुलेर तारिफ गरे । फिल्मले लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको बताउँदै उनीहरुले कलात्मक पक्षको प्रशंसा गर्दै अभिनयको समेत तारिफ गरे ।

नेपालमा विद्यमान रहेको छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजको समस्यालाई फिल्मले उठान गरेको र लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको बताए । कतिपयले फिल्म हेर्दा कैयौं पटक आँखा रसाएको बताए । आज पनि समाजमा छोराको चाहनामा छोरीहरूमाथि हुने गरेको अन्यायको कथालाई मर्मस्पर्शी ढंगले भनेको उनीहरुले भनेका छन्।

जहाँ अभिनेत्री गौरी मल्लले हरेक कलाकारहरुको अभिनय राम्रो रहेको बताउँदै उठाउन आवश्यक विषयमा फिल्म बनाएकोमा निर्देशक सुवेदीलाई धन्यवाद व्यक्त गरिन् ।

अभिनेत्री पूजा शर्मालाई भने ‘सतीदेवी’ले आफ्नै कथा उठाएको महसुस भएको रहेछ । उनले भनिन्, ‘मेरो कथा नै फिल्मले बोलेको छ । म पनि सतीदेवी हो । यो मेरै कथामा बनेको फिल्म जस्तो लागिरहेको छ ।’ यस्तो विषयमा फिल्म बनाउनु नै ठूलो आँट रहेको बताउँदै उनले अभिनेत्री मलिका महतको अभिनयको पनि तारिफ गरिन् । उनलाई यो फिल्म हरेक छोरीहरुले हेर्नुपर्छ भन्ने लाग्छ ।

अर्की अभिनेत्री मिरुना मगरले पनि मलिकाको प्रशंसा गरिन् । ‘मलाई पनि मलिकाको काम एकदमै मनपर्‍यो । उसले फिल्मलाई नै सशक्त रुपमा अगाडि बढाएको छ । फिल्मले हामी महिलालाई त छुन्छ नै छुन्छ, अझ पुरुषहरुले हेर्नुपर्छ जस्तो लाग्छ । फिल्ममा गहिरो सन्देश छ,’ उनले भनिन् । ‘सतीदेवी’ले उठाएको कथा आफूले कहिल्यै नभोगेको भएपनि धेरै सुनेको मिरुनाको अनुभव छ ।

अभिनेता सलोन बस्नेतले पनि ‘सतीदेवी’को कथावस्तु र मलिकाको कामको प्रशंसा गरे । मलिकासँग फिल्म ‘यात्रा’मा एकसाथ काम गरेका उनले भने, ‘मलिकासँग हामीले ‘यात्रा’मा एकसाथ काम गरेका थियौं । त्योबेला नै ऊ आफ्नो काममा एकदमै गम्भीर थियो । ‘यात्रा’देखि ‘सतीदेवी’सम्म आइपुग्दा उसले गजब काम गरिरहेको छ । ‘सतीदेवी’ मलिकाको लागि भएपनि हेरिदिन आग्रह गर्दछु ।’

लक्ष्मण सुवेदी निर्देशित फिल्ममा मलिका महतको शीर्ष भूमिका छ । उनले लमजुङकी एक ग्रामिण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन् । बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट