काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खस्दा दुई जना घाइते भएका छन् ।
भरतपुर महानगर २९ स्थित १७ किलोमा काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुंगा खसेको हो । घटनामा देवचुली नगरपालिका १३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कञ्चन घाइते भएका हुन् ।
घाइते दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।
माथिबाट ढुंगा खसेर माइक्रोबसमा क्षति पुगेको छ । दुई दिनदेखि चितवन आसपासको क्षेत्रमा निरन्तर पानी परिरहेकाले आवश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।