काठमाडौं । रौतहटस्थित प्रहरीको गस्ती टोलीले अवैध भारतीय माछा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका ६ बैरीया पुलस्थित अवैध रुपमा दुई सय किलो माछा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो ।
उक्त अवैध भारतीय माछा नियन्त्रणमा लिएर स्थानीय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाताभित्र नष्ट गरिएको प्रहरी प्रवक्ता एवं निमित्त प्रमुख डिएसपी एलिजा गिरीले जानकारी दिएकी छन् ।
नष्ट गरिएको भारतीय माछाको बजार मूल्य ३० हजार बढी पर्ने प्रहरीले जनाएको छ । केही स्थानीय तथा केही भारतीय तस्करहरु सीमावर्ती भारतीय बजारबाट खरिद गरी अवैध रुपमा भित्र्याएको माछा जिल्लाको बजारहरुमा बिक्री गर्ने गर्दछन् ।
भारतको आन्ध्र प्रदेशबाट रसायन प्रयोग गरी आउने उक्त माछा मानव स्वास्थको लागि निकै खराब हुने गरेको डाक्टरहरुले बताउने गरेका छन् ।