काठमाडौं । कमला ह्यारिसले आफ्नो चुनावी अभियान विशेषगरी एसियन मुलुक र हिन्दु समुदायलाई आकर्षित गर्नेगरी अगाडि बढाएकी छिन् । सोही शिलशिलामा अभियान थालेको तेस्रो दिन उनले हिन्दु पुजारीबाट पुजा गरेर अभियानको सुरुवात गरेकी छिन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार शिकागोमा ह्यारिसले हिन्दू पुजारी राकेश भट्टलाई मञ्च जप गर्न लगाउँदै अभियानको सुरुवात गरेकी हुन् ।
“सम्पूर्ण ब्रह्माण्ड एउटै परिवार हो, सत्य हाम्रो आधार हो र यो स्थायी पनि हो, हामी असत्यबाट सत्यमा, अन्धकारबाट उज्यालोमा र मृत्युबाट अमरतामा लैजान ईश्वरसँग प्रार्थना गर्दछौं, ओम शान्ति शान्ति शान्ति”, भन्दै भट्टले मन्त्रोच्चारण गराएका थिए ।
मेरिल्याण्डको श्री शिव विष्णु मन्दिरका पुजारी भट्ट बेंगलुरुका मूल निवासी हुन्। उनी एक माधव पुजारी हुन्, जसले ऋग्वेद र तन्त्रसार राम्रो अध्ययन गरेका छन् ।
तमिल, तेलुगु, कन्नड, हिन्दी, अङ्ग्रेजी, तुलु र संस्कृतमा दक्ष रहेका भट्टसँग संस्कृत, अङ्ग्रेजी र कन्नड गरी तीन भाषामा स्नातक र स्नातकोत्तर डिग्री छ।
भट्टले सुरुवात गरेको अभियानलाई लिएर अमेरिकामा हिन्दु समुदाय उत्साहित देखिएका छन् ।
सो अवसरमा ह्यारिसले अमेरिकामा रहने सबै समुदायलाई उत्तिकै सम्मान मिल्ने बताइन् । उनले अमेरिका हिन्दुहरुको पनि मुलुक भएको बताइन् ।
डोनाल्ड ट्रम्पकाे रूखाे आलोचना
ह्यारिसको चुनावी अभियानलाई पूर्व राष्ट्रपति बिल क्लिन्टनसहित डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरूले सम्बाेधन गरेका थिए । अभियानलाई सम्बाेधन गर्दै क्लिन्टनले कमला ह्यारिसको धेरै प्रशंसा गरे।
क्लिन्टनले राष्ट्रपतिको उम्मेदवारी त्याग्न कठिन निर्णयको लागि जो बाइडेनको पनि प्रशंसा गरे।
ट्रम्पलाई निशाना बनाउँदै क्लिन्टनले ‘झुटको खेति’ भनि आलोचना गरे । उनले डोनाल्ड ट्रम्पले बदला र षड्यन्त्रको राजनीति मात्रै गरिरहेको बताए ।
“ट्रम्पले विभाजन, दोषारोपण र अपमान मात्र गरिरहेका छन् । तिनीहरूले अराजकता सिर्जना गर्छन् र यसलाई बढावा दिन्छन्”, उनले भनेका छन् ।
उक्त अभियानलाई सम्बोधनका क्रममा अन्य वक्ताले पनि ट्रम्पको शैलीको रुखो आलोचना गरेका थिए । यसअघिको संसदमाथि भएको हिंसात्मक आक्रमणबाट पाठ सिक्नुपर्ने बताएका थिए ।
कमला ह्यारिसको अभियानमा उत्साहजनक सहभागिता देखिएको पनि अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विभिन्न सर्वेक्षणमा पनि ह्यारिसको पक्षमा निकै राम्रो माहोल बनेको देखिएको छ ।