रेलमा यात्रा गरी युक्रेन जाँदै नरेन्द्र मोदी, १० घण्टामा किभ पुग्ने-Sutra News

रेलमा यात्रा गरी युक्रेन जाँदै नरेन्द्र मोदी, १० घण्टामा किभ पुग्ने

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि पोल्याण्ड पुगेका छन् । उनी आज राति युक्रेन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।



यस क्रममा भारतीय प्रधानमन्त्री मोदी विमानबाट नभई रेलबाट युक्रेन जाने छन् । उनी विशेष रेलमार्फत युक्रेनको राजधानी किभ जाने तय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस विशेष ट्रेनको नाम ‘रेल फोर्स वन’ हो । यो सामान्य रेल होइन । यो लक्जरी सुविधा र विश्व स्तरीय सेवाका लागि विश्व परिचित छ । प्रधानमन्त्री मोदी १० घण्टाको यात्रापछि किभ पुग्ने छन् । उनीहरूलाई फर्किन त्यति नै समय लाग्ने छ ।

युक्रेनमा जारी युद्धका कारण एयरपोर्टहरू बन्द छन् । सडक यात्रा जोखिमपूर्ण हुन सक्छ । यही कारणले गर्दा विश्वका ठूला नेता युक्रेन जाँदा रेल यात्रालाई प्राथमिकता दिन्छन् । यो सुरक्षित मानिन्छ ।

यो रेल विशेष गरी क्रिमियामा पर्यटकहरूका लागि डिजाइन गरिएको थियो । त्यसपछि रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेको थियो । सोही समयदेखि यो विश्व नेता र भीआईपीलाई यात्राका लागि प्रयोग हुन थालेको हो ।

यो ट्रेन हतियारले सुसज्जित छ । धेरै सुरक्षित संचार प्रणाली छ । समयमा उच्च प्रविधियुक्त सुरक्षाकर्मीको टोलीले निरन्तर अनुगमन गरिरहेका हुन्छन् । यही कारणले अहिलेसम्म यो ट्रेनको सुरक्षालाई लिएर कुनै गुनासो आएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलगायत धेरै नेताले रेल फोर्स वनमा यात्रा गरेका छन् ।

युक्रेन जाने अधिकांश नेता, पत्रकार र कूटनीतिज्ञ रेल वन फोर्सबाट मात्र यात्रा गर्छन् । यो एक लक्जरी रेल हो । जुन रातमा चल्छ । यो पोल्याण्डबाट ६०० किलोमिटर यात्रा गरी कीभ पुग्छ ।

केही हप्ताअघि मात्रै भारतीय प्रधानमन्त्री मोदी रुसको भ्रमणमा पुगेका थिए । यस क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट