आरजुको भारत भ्रमणबाट किन तरंगित बन्यो राजनीति ?-Sutra News

आरजुको भारत भ्रमणबाट किन तरंगित बन्यो राजनीति ?

बिहिबार, ६ भाद्र २०८१

बिहिबार, ६ भाद्र २०८१

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले एक वर्षअघिको एउटा अन्तर्वार्तामा ख्याल ख्यालमा भनेकी थिइन्, “मन्त्री त हुन पाएको छैन प्रधानमन्त्री बनाउँछ मलाई, यो देशमा ? अझ सय वर्ष लाग्छ यो स्थानमा महिला आउन ।”



टेलिभिजनको अन्तर्वार्तामा पत्रकार (राजेन्द्र बानियाँ)ले प्रश्न राख्छन्, “तपाई अरुलाई मन्त्री नियुक्त गर्ने मान्छे आफू चाहिँ मन्त्री बन्नु भएन है ? एकै चोटी प्रधानमन्त्री हुनी ?”

यस प्रश्नमा आरजुले भनेकी थिइन्, “मेरो श्रीमानले मन्त्री बनाउने भए, अस्ती मैले भनेको थिएँ, मलाई फरेइग्न मिनिष्टर (परराष्ट्र मन्त्री) बनाइदिबक्सोस् भनेर ।”

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुले आफूलाई श्रीमानले मन्त्री बनाउन नचाहेको संकेत दिँदै जवाफ दिइन् । पाँच पटक प्रधानमन्त्री बनेका देउवा पत्नीबाट परिचित बन्नु परेको भन्दै आरजुले गुनासो गरेकी थिइन् ।

सार्वजनिक रुपमा आफू परराष्ट्र मन्त्री बन्न चाहेको बताएकी आरजु अहिले आफूले चाहेको मन्त्रालयमा आसिन छिन् । गत असार १७ गते राति प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले गरेको सम्झौताअनुसार केपी शर्मा ओली प्रधानमन्त्री बने ।

ओलीको क्याबिनेटमा परराष्ट्र मन्त्री बनेकी आरजु मन्त्रीको हैसियतमा अहिले छिमेकी मुलुक भारत भ्रमण छिन् । पाँच दिनको भ्रमणका लागि भारतमा पुगेकी उनलाई गरेको स्वागतले नेपाली राजनीति अहिले निकै तरंगित छ । यसका साथै, आरजुको राजनीतिक भविष्यलाई लिएर पनि अनेकन चर्चा–परिचर्चा भइरहेको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा भारत पुगेकी आरजुले सहजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट गरिन् । पछिल्लो करिब एक दशकदेखि नेपालको तर्फबाट भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्रीहरुले भारतीय प्रधानमन्त्रीसँग ‘वान टु वान’ भेट गर्ने अवसर पाएका थिएनन् ।

तर, आरजुले प्रधानमन्त्री मोदीसँग भेट गरी राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिएकी छन् । मूलतः उपचारका लागि भारत भ्रमणमा पुगेकी उनले उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्न सफल भएकी हुन् । यस क्रममा उनले आफ्नो राजनीतिक भेटबाट दुई देशको सम्बन्ध थप बलियो बनेको बताएकी थिइन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग भेट गरेपछि उनले भनेकी छिन्, “भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु, यस भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसका बहुआयामिक विविधताका विषयमा कुराकानी भयो, नेपालको परराष्ट्र मन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्च स्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धन थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।”

भारत भ्रमणमा रहेकी नेपालकी मन्त्री आरजुसँग भेट गरेपछि प्रधामन्त्री मोदीले समेत आफ्नो प्रतिक्रिया दिएका थिए । उनले सामाजिक सञ्जाल एक्समा भनेका थिए, “भारत र नेपालबीच सभ्यतागत निकट सम्बन्ध र प्रगतिशील अनि बहुआयामिक साझेदारी छ, हाम्रो विकास साझेदारी निरन्तर अघि बढिरहेको हेर्न चाहन्छु ।”

प्रधानमन्त्री ओलीले सोचेको आरजुको भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री आरजुको भारत भ्रमणलाई कुनै महत्व दिएका थिएनन् । औपचारिक भ्रमणमा जान लागेकी आरजुको मुख्य काम आफ्नो स्वास्थ्य उपचार हुने उनको आकंलन थियो ।

ओलीले सामान्य भ्रमण हुने भएको भन्दै आरजुको टोलीमा जाने कर्मचारीको नाम हटाइदिएका थिए । उनले तीन जनाको नाम हटाउँदै आवश्यक परे राजदूतावासबाट कर्मचारी लैजान सक्ने बताएका थिए ।

अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आरजुको भारत भ्रमणको एजेण्डाबारे छलफल भएको थियो । यस क्रममा ओलीले बढी कर्मचारी लैजान नपर्ने भन्दै हटाइदिएका थिए । प्रधानमन्त्री ओलीको सहयोग र सदासयता बिनै आरजु भारत पुगेकी थिइन् ।

पार्टीभित्र आरजुले खोजेको हैसियत

कांग्रेसभित्र पार्टी सभापति शेरबदादुर देउवाको निकै बलियो प्रभाव छ । लगातार दुई कार्यकाल सभापति बनेका उनी आगामी महाधिवेशनमा आफ्नो गुटबाट उचित पात्रको खोजीमा छन् ।

एमालेसँग सात बुँदे सहमति गरी दुई वर्षपछि प्रधानमन्त्री बन्ने बाटो खुलाएका देउवाले आफूलाई सहज हुने पात्रका रुपमा पत्नी आरजुलाई अगाडि सार्ने धेरैको अनुमान छ । यस क्रममा उनले सत्ता बाहिर हुँदा पत्नीलाई प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति बनाएका थिए ।

सत्तामा जाने बाटो खुला भएपछि देउवाले पत्नीलाई परराष्ट्र मन्त्री बनाउन सफल भए । योसँगै पार्टीभित्र आरजुले पकड जमाउँदै गएकी छन् । पार्टीभित्र शेखर कोइराला–गगन थापाको गुटलाई कमजोर बनाउन सके आरजु पार्टीभित्र थप बलियो बन्ने निश्चित छ ।

आगामी महाधिवेशनमा शेखर–गगन पक्षबाट सभापति चयन भए आरजुको राजनीतिक धरालत कस्तो हुनेछ ? भन्ने यकिन हुन नसक्ला । तर, शेखर–गगन गुटभित्र मतभेद हुँदै गर्दा उनी पार्टीभित्र थप बलियो बन्ने बाटोमा हिँडिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट