काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से) निकै नै उथलपुथलमा रह्यो । ४८ अंकको उथलपुथलका बीच नेप्सेले पटक–पटक ३ हजारको बिन्दुलाई छोएको थियो ।
नेप्से ३०१८ को बिन्दुमा समेत उक्लिएको थियो । यद्यपि, दिनैभर नेप्सेमा उत्साह कायम रहन सकेन । उच्च घटबढकै बिच नेप्से एकल अंक ६.०१ अंकले बढ्दै २९७४.४६ को बिन्दुमा उक्लिएर बन्द भयो ।
आज १३ मध्ये ७ वटा समूहका मात्रै सूचक हरिया भए । विकास बैंक ४.५२ प्रतिशतले बढ्दा अन्यमा १ प्रतिशतकै हाराहारिमा घटबढ रह्यो ।
आज बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढ्यो भने ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घट्यो ।
कारोबारमा आएका २४४ कम्पनीमध्ये १३२ को मूल्य बढ्यो भने १०९ कम्पनीको मूल्य घट्यो ।
एकल अंकले बढेपनि ७ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो ।
तिव्र उथलपुथलपछि एकल अंकले नेप्से बढेपनि कारोबार रकममा भने खासै सुधार आएन । बुधबारको तुलनामा केही बढेपनि कारोबार रकम २० अर्ब पुग्न सकेन । बिहीबार ४ करोड ९ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब १६ करोड रुपैयाँको भयो ।
आज साइन रेसुङ्गा, अरुण भ्याली हाइड्रोपावर, हिमालयन रि इन्स्यारेन्स, ज्योति विकास बैंक, अपि फाइनान्सलगायत कारोबार रकमका आधार शीर्ष स्थानमा रहे । साइन रेसुङ्गाको मात्रै कारोबार रकम एक अर्ब तीन करोड ९३ लाख रुपैयाँ बराबरको रह्यो ।
विशेषगरी ठूला लगानीकर्ता सक्रिय नहुँदा नेप्सेमा उत्साह नआएको देखिन्छ । कारोबार रकममा आएको गिरावटले आगामी समय के हुने प्रश्न उब्जाएको छ । यद्यपि, लगानीकर्ता अनुकुल नीति फेर्ने सरकारको तयारीले नेप्सेमा उत्साह ल्याउन सक्ने सम्भावना कायमै छ ।