काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनका बक्यौता एक रुपैयाँ पनि नछाड्ने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लाइन बन्द नगरी बक्यौता उठाइने बताएका हुन् । विगतमा किन समयमा महसुल उठाइएन ?, किन लाइन काटियो ? र किन फेरि लाइन जोडियो ? भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिने भन्दै उनले सरकार र विद्युत प्राधिकरणबीच कुनै मतभेद नभएको दाबी गरे ।
उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गरे । विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको उनको भनाइ थियो ।
उद्योग बन्द हुँदा बक्यौता उठ्ने आधार बन्द हुने र रोजगारीसमेत गुम्ने भएकाले बक्यौता उठाउन उद्योग चल्नै पर्ने देखिएको उनको भनाइ थियो ।