काठमाडौं । नेकपा माओवादी केन्द्रले देश र जनताका जल्दाबल्दा विषयमा सदन र सडकबाट प्रभावकारी भूमिका निर्वाह गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बागमती प्रदेशका नेता तथा कार्यकर्ताको बैठकमा धारणा राख्ने ८२ जना नेताले जनताको कार्य सूचीमा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
पार्टीलाई प्रभावकारी बनाउनका लागि वर्गतिर फर्कनु पर्ने, विगतका गल्ती तथा कमजोरीलाई आत्मआलोचना गर्नु पर्ने, सङ्गठन निर्माणमा विशेष जोड दिनु पर्नेलगायत समसामयिक राजनीतिक विषयमा नेताहरूले आ–आफ्नो धारणा राखे ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीचित्र निरन्तर बहस र छलफल भइहेको र केन्द्रीय समितिको बैठकसम्म जारी रहने जानकारी दिए । उनले पार्टीभित्र देखिएको भनिएको विवाद समाधान भइसकेको बताए ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले निर्वाह गर्ने भूमिका तथा सङ्गठन विस्तारलगायतका विषयमा आफ्नो धारणा राखे ।
उपमहासचिव जनार्दन शर्माले पनि आफूले स्थायी समिति बैठकमा राखेको लिखित धारणाका बारेमा जानकारी राख्दै पार्टीलाई सुधार र जनमुखी बनाउने आफ्नो ध्येय रहेको बताए ।