मिर्गौलालाई प्राकृतिक रूपमा कसरी स्वस्थ राख्ने ?-Sutra News

मिर्गौलालाई प्राकृतिक रूपमा कसरी स्वस्थ राख्ने ?

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१

मिर्गौलाको समस्या आइसकेपछि उपचार गर्नुभन्दा समस्या नै आउन नदिनु सबैभन्दा उत्तम हुन्छ । यदि हाम्रो दैनिक आहार–व्यवहार सही बनाइयो भने मिर्गौला स्वस्थ रही रहन सक्छ । 



वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा. हेमराज कोइरालाले प्राकृतिकरूपमै मिर्गौलाको कसरी हेरचाह गर्ने भन्नेबारे सुझाव दिएका छन् । जसलाई यहाँ समेटिएको छ ।

१. पर्याप्त पानी पिउनुहोस् : मिर्गौला स्वस्थ राख्न चाहनेहरूले प्रशस्त पानी  पिएर हाइड्रेटेड रहनु पर्ने हुन्छ । पानीले शरीरमा भएका विजातीय द्रव्यहरूलाई पिसापको माध्यमद्वारा शरीर बाहिर निकाल्न सहयोग गर्दछ । यसर्थ विषाक्त पदार्थहरूलाई प्रभावकारी रूपमा शरीरबाट बाहिर निकाल्न दैनिक ८–१० गिलास पानी पिउनुहोस् ।

२. मिर्गौला मैत्री खानेकुरा खानुहोस् : मिर्गौला स्वस्थ राख्नका लागि रक्तचाप नबढाउने, अक्सिडेटिभ स्ट्रेसबाट मिर्गौलालाई जोगाउने र पत्थरी हुन नदिने खानेकुराहरू खानुपर्ने हुन्छ । ताजा फलफूल एवं तरकारीको सेवनले मिर्गौलालाई अक्सिडेटिभ तनावबाट जोगाउन सहयोग गर्दछ भने तारे भुटेको, बोतल र बट्टामा बन्द तैयारी खानेकुराहरू, उच्च तेल र कार्बोहाईड्रेट युक्त प्रशोधित खानेकुराले मिर्गौलालाई अक्सिडेटिभ स्ट्रेस दिन्छ । यसैगरी मिर्गौला स्वस्थ राख्नालागि नुन लगायतका रक्तचाप बढाउने खानेकुरामा पनि नियन्त्रण गर्न आवश्यक छ । अक्ज्यालेट युक्त खानेकुराको सेवनले मिर्गौलाको पत्थरी हुने हुँदा यस्ता खानेकुरामा पनि परहेज गर्न आवश्यक छ ।

३. तौल नियन्त्रण गर्नुहोस्  : अधिक तौल वा मोटोपना हुँदा रक्तचाप बढ्ने, इन्सुलिन प्रतिरोधात्मक क्षमता बढ्ने र टाइप २ मधुमेह विकास हुने गर्दछ । यी अवस्थाहरूले मिर्गौलालाई तनाव दिन्छ र ग्लोमेरुलार हरूलाई क्षतिग्रस्त बनाउँदछ । यसर्थ मृगौलालाई स्वस्थ राख्न र  तौल नियन्त्रण गर्न योग गर्ने हिँड्ने, पौडी खेल्ने वा साइकल चलाउने जस्ता गतिविधिहरूका साथै खानामा क्यालोरी कटौती गरी तौल कम गर्नुहोस्।

४. रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुहोस्: रगतमा चिनीको मात्रा अनियन्त्रित भए कालान्तरमा मिर्गौलालाई हानि पु¥याउछ ।

५. रक्तचाप निगरानी गर्नुहोस्: मिर्गौलालाई क्षति पुर्‍याउने प्रमुख कारण मध्ये उच्च रक्तचापको नाम अग्र पंक्तिमा आउँदछ । उच्च रक्तचाप नियन्त्रित नभए कालान्तरमा मिर्गौला अस्वस्थ हुन पुग्छ ।

६. प्रोटिनको सेवन सीमित गर्नुहोस्: उच्च प्रोटिन युक्त खाने कुराहरू, विशेष गरी रातो मासु र जनावरबाट प्राप्त प्रोटिनहरू, साथै तेलमा तारे–भुटेको प्रोटिनहरूले मिर्गौलालाई क्षति गर्दछ । यसर्थ प्रोटिनको चयन गर्दा जनावरबाट प्राप्त हुने भन्दा वनस्पतिबाट प्राप्त हुने  प्रोटिनको चयन गर्नु राम्रो हो ।

७. प्रशोधित खानेकुराहरू नखानुहोस्ः प्रशोधित खानेकुराहरूमा प्रायः सोडियम, अस्वास्थ्यकर बोसो र मिर्गौलालाई हानि गर्ने रङ्ग र खाद्य संरक्षकहरू हालिने हुँदा मिर्गौला चाडै क्षतिग्रस्त हुन पुग्दछ ।

८. धुमपान छोड्नुहोस्: धुमपानको धुवामा निहित निकोटिन र कार्बन मोनोअक्साईड जस्ता तत्वले मिर्गौलाको रक्त प्रवाह कम गरी मिर्गौलालाई क्षति पुर्‍याउँछ ।

९. रक्सी नखाएकै राम्रोः मदिराको सेवनले डिहाइड्रेसन र रक्तचाप बढाई मिर्गौलालाई क्षतिग्रस्त बनाउँदछ ।

१०. औषधिको प्रयोगमा सजगता अपनाउनुहोस् : दुखाई कम गर्ने नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्स, (ब्रफ्रेन, नेप्रोक्सेन, सिटामोल), उच्च रक्तचापको औषधि, पिसाप ज्यादा लगाउने हाईड्रोक्लोरोथायजाईड, फूरोसेमाईड जस्ता औषधि, ग्यास्ट्रिकको औषधि, केही एण्टिबडी लगायत अन्य औषधिहरूले पनि मिर्गौलालाई आघात पुर्‍याउने गर्दछ । यसर्थ औषधि प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउनुहोस् ।

११. जडीबुटीको प्रयोग: पुनर्नवा, तुलसी, सिस्नो, बेसार टुकी फूल अश्वगन्धा, जस्ता जडीबुटीको चिया वा काँडाको सेवनले मिर्गौला स्वास्थ्य राख्न मद्दत गर्दछ । तर जडीबुटीको सेवन गर्नु पूर्व चिकित्सकको सल्लाह लिन अति आवश्यक छ ।

१२. तनाव व्यवस्थापन गर्नुहोस्: चिताले मरेको मानिसलाई जलाउने भएता पनि चिन्ताले जिउँदै मानिस जलाउने हो । यसर्थ मिर्गौला स्वस्थ राख्नालागि तनाव, चिन्ता, भय, उदासीनता, नैरास्यता जस्ता मानसिक अवसादहरूबाट बच्नु पर्ने हुन्छ । तनाव कम गर्न  योगासन, ध्यान, प्राणायाम गर्ने, पर्याप्त सुत्ने र शारीरिक रूपले सक्रिय हुने गर्नुहोस् ।

१३. पर्याप्त निन्द्रा लिनुहोस् : निन्द्राको अवस्थामा शरीरले आफूलाई मर्मत गर्ने र पुनर्ताजगी गर्ने गर्दछ । निन्द्रा पर्याप्त नहुँदा शरीरको प्राकृतिक मर्मत प्रक्रियामा बाधा पुग्नुका साथै अक्सिडेटिभ तनाव र ईन्फ्लेमेसन बढ्दछ । यसका अलावा अनिन्द्राले रक्तचाप बढाउनुका साथै,  ग्लुकोज चयपचयलाई समेत  असर गर्दछ । जसका कारण मिर्गौलाहरूलाई तनाव बढ्न गइ कमजोर हुन पुग्छन् ।

१४. अर्गानीक खानेकुराहरूको सेवन गर्नुहोस्: कीटनाशक र रासायनिक मल हालेर गरिएको कृषि उत्पादनहरूमा मिर्गौलालाई हानि पुर्‍याउने धेरै तत्त्वहरू छन् जसले अक्सिडेटिभ स्ट्रेस र ईन्फ्लामेसन गराएर मिर्गौलालाई क्षति पुर्‍याउन सक्छ । यी रसायनहरूले चयापचय प्रक्रियालाई समेत बाधा पुर्‍याइ उच्च रक्तचाप र मधुमेह जस्ता समस्या निम्त्याएर मिर्गौलालाई तनाव दिन्छ । यसर्थ मिर्गौला बचाउनलाई अर्ग्यानिक तरिकाले उत्पादन गरिएको खानेकुरा खाने गरौँ ।

१५. वातावरणीय विषहरूबाट जोगिनुहोस् : मिर्गौलालाई क्षति पुर्‍याउन सक्ने वातावरणीय विषहरू जस्तै कीटनाशकहरू औषधि, भारी धातुहरू, र कठोर रसायनहरूको समागमले मिर्गौलालाई क्षति ग्रस्त बनाउने हुँदा यिनीहरूको संसर्गबाट बचौँ ।

१६. बेलाबेलामा मिर्गौलाको परीक्षण गराई रहनुहोला: नियमित मिर्गौलाको परीक्षणले समस्याहरूलाई प्रारम्भिक अवस्थामै पत्ता लगाई बेलैमा उपचार गर्न मद्दत गर्दछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट