रास्वपालाई मुलुकको स्पष्टीकरण : रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु-Sutra News

रास्वपालाई मुलुकको स्पष्टीकरण : रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले अन्तिम मौकाको रूपमा दिएको स्पष्टीकरणको जवाफ फर्काएका छन् । रास्वपा केन्द्रीय समितिको बैठकको निर्णयअनुसार बुधवार सोधिएको स्पष्टीकरणको जवाफ ढकालले फर्काएका हुन् ।



पार्टीको हित विपरीत कुनै पनि कार्य नगरेको दाबी ढकालले गरेका छन् । पार्टी सभापति रवि लामिछानेका गलत कदमविरुद्ध उभिनु पार्टीविरुद्ध उभिनु नभएको पनि ढकालको जिकिर छ । उनले पार्टी सभापति लामिछानेका गलत कदम र व्यवहारविरुद्ध आफू लडिरहेको बताएका छन् ।

“मैले पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन, बरु पार्टी जोगाउन म लडिरहेको छु”, उनले पत्रमा लेखेका छन्, “रवि लामिछानेको निरङ्कुशता, व्यक्ति केन्द्रित व्यवहार सोचबाट जोगाउन लागिरहेको छु ।”

सभापति लामिछानेलाई ठग, भ्रष्टाचारी, अपराधी भएको दाबी गर्दै ढकालले जसको प्रमाणित गर्न सक्ने पनि बताएका छन् । उनले लामिछाने जेल जाने अवस्थामा रहेको पनि बताएका छन् ।

“तपाईँले सहकारीमा ठगी गर्नुभएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर मैले प्रमाणित गर्न सक्छु”, लामिछानेलाई सम्बोधन गर्दै ढकालले पत्रमा भनेका छन्, “सहकारी मुद्दामा तपाईँ ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ, राहदानी दुरुपयोगमा तपाईँ कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न, यीसँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ ।”

लामिछानेले जनतालाई भ्रमित पारिरहेको आरोप ढकालले लगाएका छन् । लामिछाने उदय नै लोकतन्त्रमाथि खतराका रूपमा रहेको ढकालको जिकिर छ ।

“यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ, आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन्”, उनले भनेका छन् ।

यस्ताे छ ढकालकाे पत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट