‘रावायण’को ट्रेलर : पलको दोहोरो भूमिका देखाउँदा चिप्लिएको भिएफएक्स -Sutra News

‘रावायण’को ट्रेलर : पलको दोहोरो भूमिका देखाउँदा चिप्लिएको भिएफएक्स 

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१

काठमाडौं । यही भदौ २१ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रावायण’को ट्रेलर सार्वजनिक भएकाे छ । एक्सनपूर्ण ट्रेलरले फिल्मको कथा र पात्रहरूको झलक दिएको छ। सार्वजनिक ट्रेलर हेर्दा, प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको बुझ्न सकिन्छ ।



सुदर्शन थापाले निर्देशन गरेको यस फिल्मको ट्रेलरमा नायिका पूजा शर्मालाई रिपोर्टर (पत्रकार)को भूमिकामा देखाइएको छ भने नायक पल शाह दोहोरो भूमिकामा देखिएका छन् ।

सार्वजनिक ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । उक्त ट्रेलरमा दक्षिण भारतीय फ्लेवर मिसिएको देखिन्छ नै दोहोरो भूमिकामा देखिएका पलको प्रायः दृश्य भिएफएक्सको मद्दतले तयार गरिएको छ । जसले दर्शकहरूलाई उत्साहित तुल्याएको छ।

तर, ट्रेलरले मिश्रित प्रतिक्रियाहरू प्राप्त गरिरहेको छ, विशेषगरी फिल्मको भिएफएक्सको गुणस्तरलाई लिएर।

फिल्मको महत्वपूर्ण सीनमा दोहोरो भूमिका देखाउन प्रयोग गरिएको भिएफएक्स चिप्लेको देखिएको छ, जसले गर्दा निर्माण टिमले फिल्मलाई गम्भीर रूपमा नलिएको देखिन्छ। यो सीनमा मुख्य पात्रलाई दुई फरक भूमिकामा देखाउन अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ।

तर, भिएफएक्समा आएको प्राविधिक गल्तीले पात्रको अनुहार स्पष्टरूपमा असमान देखिएको छ। यो त्रुटि प्रायः भिएफएक्स टीमको असावधानीका कारणले भएको हो।

भिएफएक्सद्वारा फिल्मको लाइभ-एक्शन शटको सन्दर्भ बाहिर सिर्जना वा हेरफेर गरिन्छ। तर, कमजोर भिएफएक्सले यसको प्रभावमा नकारात्मक असर पार्न सक्छ।

ट्रेलरमा देखिएको भिएफएक्सको प्रयोगले केही निराश बनाएको छ। कमजोर भिएफएक्सले फिल्मको दृश्यलाई कृत्रिम र अप्राकृतिक बनाएको टिप्पणी धेरै दर्शकहरूबाट आएको छ।

यस किसिमको भिएफएक्सको प्रयोगले फिल्मलाई मजाक्क बनाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आलोचना गरेका छन्। केही दर्शकहरूले भने फिल्मको कथा र अभिनयमा विश्वास राख्दै भिएफएक्सको कमीलाई नजरअन्दाज गर्न आग्रह गरेका छन्।

फिल्मको निर्देशक र निर्माता टिमले ट्रेलरपछि आएका प्रतिक्रियाहरूलाई ध्यानमा राख्दै सुधार गर्ने पनि प्रतिबद्धता जनाएका छन्। तर, भिएफएक्स चिप्लेको यो फिल्मले अब दर्शकलाई कत्तिको प्रभावित गर्छ भन्ने कुराको जवाफ भने फिल्मको प्रदर्शनपछि मात्र थाहा हुनेछ।

नक्कली दारी जुँगाको मजाक

भिएफएक्ससँगै फिल्ममा पल शाहलाई दारी जुँगासहित देखाइएको छ । कतिपय पार्टमा उनलाई त्यसरी देखाइँदा सिन वास्तविक भन्दा कमेडी शैलीमा देखिएको छ ।

गम्भीर कथामा उनको अनुहार जोक शैलीमा प्रस्तुत गरिएको धेरै टिप्पणी छ । टिजर आएदेखि नै शाहको दारी जुँगासहितको अनुहारलाई लिएर सामाजिक सञ्जालमा निकै व्यंग्य भइरहेको छ ।

यद्यपि, कथामा उनलाई किन त्यसरी देखाइएको जसबारे फिल्म हेरेपछि मात्रै थाहा होला, यद्यपि सुरुवाती दृश्य दर्शक स्वयम् नै लजाउने खालको देखिन्छ ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल र पूजाका अलावा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा निर्देशक थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट