युद्ध अन्त्य गर्न मोदीले लिए पहल, पुटिनसँगको भेटपछि पुगे कीभ-Sutra News

युद्ध अन्त्य गर्न मोदीले लिए पहल, पुटिनसँगको भेटपछि पुगे कीभ

शुक्रबार, ७ भाद्र २०८१

शुक्रबार, ७ भाद्र २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युद्धभूमी युक्रेनको कीभ पुगेका छन् । युक्रेनको छिमेकी देश पोल्याण्डको भ्रमणपछि उनी शुक्रबार कीभ पुगेका हुन् ।



कीभमा मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

रूसले युक्रेनमा आक्रमण सुरू गरेको साढे दुई वर्षपछि युक्रेनले रूसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदी युक्रेन पुगेका हुन् । उनले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहेका छन् ।

मोदीले आफ्नो भ्रमणअघि भनेका थिए, “युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनस्र्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।”

रूसको पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणपछि मस्को र कीभबीच कूटनीतिक सफलता पहिलेभन्दा बढी असम्भव देखिएको छ । युक्रेनका धेरैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको रूपमा हेरेका मोदी स्वयम् एक प्रभावकारी सम्झौताकर्ता हुन सक्नुहसन्छ वा हुँदैन स्पष्ट छैन ।

मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदान–प्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताएका छन् ।

“एक मित्र र साझेदारको रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरताको शीघ्र पुनरागमनको आशा गर्दछौं,” मोदीले भ्रमणअघि सामाजिक सञ्जालमा लेखेका छन् ।

जेलेन्स्कीले पनि मोदीसँगको भेटमा “धेरै दस्तावेजमा पनि हस्ताक्षर हुने अपेक्षा गरिएको” बताएका छन् ।

भारत र रूसबीच ऐतिहासिक रूपमा न्यानो सम्बन्ध भए तापनि भारतले आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी चीनविरुद्ध पश्चिमी राष्ट्रहरूसँग घनिष्ठ सुरक्षा साझेदारीलाई पनि बलियो बनाएको छ ।

नयाँदिल्लीले सन् २०२२ मा रूसले गरेको आक्रमणको स्पष्ट निन्दा गरेको छैन भने क्रेमलिनको आलोचना गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावमा अनुपस्थित भएको थियो । तर, भारतले दुवै पक्षलाई प्रत्यक्ष वार्ताको माध्यमबाट आफ्ना मतभेदहरू समाधान गर्न आग्रह गरेको छ ।

तर, शान्ति सम्झौता पहिलेको भन्दा अहिले धेरै टाढा देखिन्छ ।

युक्रेनले सन् २०२२ मा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको थियो भने मस्कोले हालै रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आश्चर्यजनक रूपमा जवाफी आक्रमणका बीच कीभसँग वार्ता नगर्ने बताएको थियो ।

रूसी नेता भ्लादिमिर पुटिनले यस वर्षको सुरुमा वार्ताको पूर्वशर्तका रूपमा कीभलाई मस्कोले कब्जा गरेको दाबी गरिएका युक्रेनका चार क्षेत्रहरूबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउन माग गरेका थिए ।

कीभका अनुसार अस्थायीरूपमा लडाईं रोकिएमा मस्कोले भविष्यमा हुने कुनै पनि आक्रमणका लागि पुनः सङ्गठित हुन र पुनः आक्रमण गर्न समय दिनेछ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट