बस दुर्घटनामा परेका आफ्ना नागरिकलाई भेट्न आइपुगिन् भारतीय मन्त्री-Sutra News

बस दुर्घटनामा परेका आफ्ना नागरिकलाई भेट्न आइपुगिन् भारतीय मन्त्री

शनिबार, ८ भाद्र २०८१

शनिबार, ८ भाद्र २०८१

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न भारतकी राज्य मन्त्री काठमाडौं आइपुगेकी छन् ।



शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शव लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा नेपालस्थित भारतीय राजदूताबास नवीन श्रीवास्तवलगायत उच्च अधिकारीले स्वागत गरेका थिए । उनी घाइते भेट्न त्रिभुवन शिक्षण अस्पताल जाँदै छिन् ।

शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । आज बिहानैदेखि भरतपुर अस्पतालमा मृतकको शवको परीक्षण जारी रहेको छ ।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट